२३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा कलैया उपमहानगरपालिका – १० मट्टीअर्वा सीमा नाकामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपालको नागरिक सहायता कक्षको उद्घाटन गरिएको छ ।
कलैया उपमहानगरपालिका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विनोद साहले रिबन काटेर सहायता कक्षको उद्घाटन गरेका थिए ।
प्रमुख साहले मट्टीअर्वा सहित सिम्रौनगढ, सन्तगञ्ज सहितका ४ वटा सीमा नाकाबाट भारत सरकारले हालै गरेको चार पाङ्ग्रे गाडी नेपाल(भारत प्रवेशमा खुल्ला गरेको र यसको लागि कुनै नेता वा मन्त्रीको भूमिका नरहेको प्रस्ट पारेका थिए ।
‘केही मानिसहरू आफूले नै नाका खुलाएको हो कि जस्तो गरेर प्रचार गर्न थालेका छन्,’ उनले भने, ‘तर यो कुनै नेता वा मन्त्रीले खोलेको होइन ।’ नगर प्रमुख साहले नाका खोल्न दुवै देशको सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको भूमिका अहम् रहेको पनि उल्लेख गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीले सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारीमा सीमाको सुरक्षा गर्नु नै रहेको बताए ।
उनले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप र राजश्व चुहावट रोक्ने कार्यतर्फ पनि सशस्त्र प्रहरीले काम गरिरहेको बताए । तिन लाख ३५ हजार ५९ रुपैयाँको लागतमा नागरिक साहयता कक्ष स्थापना गरिएको निर्माण समितिका सदस्य सचिव बाँकाबहादुर कोइरीले कार्यक्रममा जानकारी दिएका थिए ।
मट्टीअर्वा नाकामा नागरिक सहायता कक्ष स्थापना गर्न २०८० मङ्सिर १९ गते सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मट्टीअर्वाका गुल्मपती कवीन्द्र महर्जनको संयोजकत्वमा समिति गठन भएको थियो । नागरिक सहायता कक्ष निर्माणमा कलैया उपमहानगरपालिका, फेटा गाउँपालिका, अनमोल इट्टा उद्योगलगायतले आर्थिक र निर्माण सामग्री सहयोग गरेका थिए ।
उद्घाटन कार्यक्रममा पूर्व वडाध्यक्ष शंकरप्रसाद गुप्ता, मट्टीअर्वा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायब उपरीक्षक श्यामबाबुप्रसाद यादव, बाँका महता, सशस्त्र प्रहरी जवान र स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम कलैया उपमहानगरपालिका – १० वडाध्यक्ष सबिर मिया ठकुराइको अध्यक्षतामा सम्पन्न भएको थियो ।