जनकपुरधाम – स्थानीय तह उपनिर्वाचनमा मधेस प्रदेशका विभिन्न ७ वटा वडामा वडाध्यक्ष पदका लागि ६ जना महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार ६ महिला र ९७ पुरुषले उम्मेदवारी दिएका हुन्।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मधेस प्रदेशका ४ जिल्लाका ६ स्थानीय तहमा ७ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ।
आयोगका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसबाट भूलिया देवी थरुनी, धनुषाको धनुषाधाम नगरपालिका १ मा बहुजन एकता पार्टी नेपालकी प्रमिला कुमारी सदा र राष्ट्रिय जनता पार्टी नेपालकी लक्ष्मिनीया देवीले उम्मेदवारी दर्ता गराएकी हुन्।
यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रकी आइती कुमारी यादवले उम्मेदवारी दिएकी छन्। उनी यसअघिका वडाध्यक्षका श्रीमती हुन्।
यस्तै, रौतहटको गढीमाई नगरपालिका ८ को वडाध्यक्षका लागि नेकपा एमालेको तर्फबाट जीउती देवी यादवले उम्मेदवारी दर्ता गराएकी छन् भने राजपुर नगरपालिका ६ को वडाध्यक्षका लागि नजमा खातुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।
सप्तरीको डाक्नेश्वरी ४ र रौतहटको ईशनाथ नगरपालिका ७ मा महिलाको उम्मेदवारी परेको छैन।
७ वडाध्यक्षका लागि ४७ जना स्वतन्त्र र ५६ जनाले विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएको आयोगले जनाएको छ।
आयोगका अनुसार डाक्नेश्वरी १ मा ९ जना, डाक्नेश्वरी ४ मा ८ जना, धनुषाधाम २ मा २१ जना, रामगोपालपुर २ मा २० जना, ईशनाथ ७ मा १५ जना, राजपुर ६ मा १४ जना र गढीमाई ८ मा १६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।