वीरगञ्ज । पर्सा जिल्लामा विद्यालय स्तरका खेल गतिविधिलाई प्रभावकारी बनाउन नेपाल विद्यालय खेलकुद महासङ्घको जिल्ला कार्यसमिति गठन गरिएको छ ।
आइतबार वीरगञ्जमा सम्पन्न भेलाले आलोक कुमार चौरसियाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष दिपक साह र राहुल श्रीवास्तव, सचिव अमित आलोक, र कोषाध्यक्ष विजय कुमार बल चयन भएका छन् । सदस्यहरूमा मनीषा सुनुवार श्रेष्ठ, उत्तम गुप्ता, राम दरेस साह, लालबहादुर गुरुङ, विमला गुप्ता, हिमांशु पाख्रिन, राम नरेश यादव, र पृथ्वी आलोक रहेका छन् ।
नेपाल विद्यालय खेलकुद महासङ्घ राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेको निकाय हो, जसले विद्यालय स्तरमा खेलकुद गतिविधिको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
महासङ्घको मुख्य उद्देश्य विद्यालयबाटै खेलकुद प्रतिभा पहिचान गरी उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु हो ।
महासङ्घले खेलकुद शिक्षालाई प्रवर्द्धन गर्दै विद्यालयहरूको समन्वयमा खेलकुद प्रतियोगिता, तालिम, र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चौरसीयाले जानकारी दिए । विशेष गरी ग्रामीण र सहरी क्षेत्रका विद्यालयहरूबिच खेलकुदमा सहभागिता बढाउन काम गर्ने आफूहरूले उद्देश्य राखेको चौरसीयाले बताए ।
उनले पर्सा जिल्लाका विद्यालयहरूमा खेलकुदका गतिविधि अझ व्यवस्थित गर्ने र प्रतिभावान् खेलाडी उत्पादनमा ध्यान दिने प्रतिबद्धता पनि जनाएका छन् ।
नेपाल विद्यालय खेलकुद महासङ्घले यसअघि विभिन्न राष्ट्रिय प्रतियोगितामा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ र विद्यार्थीहरूलाई खेलकुद माध्यमबाट अनुशासन, नेतृत्व विकास, र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गरिरहेको उनको भनाइ छ ।