स्याङ्जा : आईसीसी महिला यू १९ विश्वकपका लागि छनौट पुतलीबजार नगरपालिकाका- ३ महिला क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ। खेलाडीहरूलाई खुमा अर्याल फाउण्डेशनले दोसल्ला, सम्मानपत्र र नगदले सम्मान गरेको हो।
फाउण्डेशनको छैटौं स्थापना दिवसको अवसर पारेर भीरकोट नगरपालिका- ७ बलमाटामा बुधबार आयोजित स्वास्थ्य शिविरसहित खेलाडी सम्मान कार्यक्रममा यू १९ महिला राष्ट्रिय क्रिकेट समूहमा प्रतिनिधित्व गर्न सफल ३ जना खेलाडीलाई सम्मान गरिएको हो।
प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा. लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एक/एक लाख नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्।
सम्मान गर्दै सांसद थापाले खेलका माध्यमबाट स्याङ्जालाई विश्वभर चिनाउन सफल महिला क्रिकेट खेलाडीलाई बधाई दिँदै उनीहरूलाई हौसला र उर्जा बढाउनुपर्नेमा जोड दिए। खेलाडीहरु जिल्लाका मात्र नभई राष्ट्रका गहना भएको सांसद थापाको भनाइ छ।
शिक्षा, स्वास्थ्य, खेलकुद र दैवी प्रकोप लगायतका क्षेत्रमा सहयोग गर्दै आएको फाण्डेशनले पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी. र कुसुम गोदारसहित स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पनि सम्मान गरेको छ।
युएईमा भएको यू–१९ महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिममा स्याङ्जाका ३ जना महिला क्रिकेट खेलाडी सहभागी हुने भएका छन्।
गण्डकी प्रदेशमै कास्कीका एकजना र स्याङ्जाका ३ जना रहेको अध्यक्ष थापाले जानकारी दिए।