काठमाडौँ , काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दिनदेखि लगातार घटिरहेको छ।
यस क्रममा उपत्यकाको न्यूनतम तापक्रमले आज (बिहीबार) पनि रेकर्ड तोडेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे जारी गरेको तापक्रम विवरणअनुसार काठमाडौँ उपत्यकाकोे न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हो। यो काठमाडौँ उपत्यकाका लागि यस वर्षको आजसम्मकै कम न्यूनतम तापक्रम हो।
यसअघि हिजो मंसिर ५ गते उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने अघिल्लो दिन मंसिर ४ गते ९.९ डिग्री सेल्सियस थियो।
यसैगरी मंसिर ३ गते उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो। त्यसयता उपत्यकाको न्यूनतम तापक्रम लगातार घटिरहेको हो।
त्यसो त काठमाडौँ उपत्यकामा मात्र होइन, अहिले देशभर नै तापक्रम घटिरहेको छ भने चिसो बढिरहेको छ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।