विराटनगर : विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी थालिएको छ। विभिन्न संस्थासँगको सहकार्यमा पूर्वाञ्चल विश्वविद्यालयले दुई दिने सम्मेलन गर्दै छ।
पूर्वाञ्चल विश्वविद्यालयको कला/कानुन/शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमै पहिलोपटक प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयक सम्मेलन हुन लागेको जानकारी बिहीबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिइयो। संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेलका अनुसार सम्मेलन आगामी मंसिर २१ र २२ गते हुने छ।
त्यसमा नेपालसहित अमेरिका, मलेसिया, भारत बंगलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने जानकारी उनले दिए। प्रा.डा पोखरेलका अनुसार बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने सम्मेलनको मुख्य उद्देश्य हो।
सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई पारेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आआफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने बताइएको छ।
सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिबाट ‘की नोट’ तथा विविध प्रकारका कार्यशालामा बालबालिकाहरूका सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस हुने प्रा.डा. पोखरेलको भनाइ छ।
त्यहाँ प्रस्तुत हुने कार्यपत्र एवं कार्यशालाबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकायअन्तर्गत रहने गरी ईसीडी सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ छ। यसले बालविकासका क्षेत्रमा नयाँ एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तरलगायतका विशेष कार्यक्रमहरुको पहिचान गर्न र सो अनुरुप कार्यक्रमहरु थप गर्न सघाउ पुग्ने विश्वास लिइएको छ।
सम्मेलनका लागि विश्वविद्यालयले काठमाडौं र विराटनगर महानगरपालिका, नबिल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायतका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेको छ। सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गराउने तयारी छ।