बारामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सिडिओ शशीधर घिमिरेले सेवा प्रवाहलाई सहज र सरल बनाउने पहिलो प्राथमिकता दिने बताएका छन् ।
बाराका सञ्चारकर्मीहरूसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा सिडिओ घिमिरेले यस्तो बताएका हुन् ।
सिडिओ घिमिरेले जिल्ला प्रशासन कार्यालय र जिल्लाका अन्य निकायहरूमा सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्दै सहज र सरल रूपमा आम नागरिकसँग सेवाको पहुँच पुर्याउने आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
जिल्ला प्रशासन कार्यालय बाराबाट दिइने सेवाहरू नागरिकता, पासपोर्ट,राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थित गर्दै छिटो र सहज रूपमा सेवा पाउने गरी काम गर्ने उनले बताए ।
घिमिरेले जिल्लामा भन्सार छली, चोरी निकासीलाई नियन्त्रण गर्न प्रहरीको निगरानी बढाउने र अनुचित लेनदेन, मिटर ब्याजीलाई कारबाही जस्ता कामलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । स्थानीय तहसँग समन्वय गरी बजार अनुगमन, लागूऔषध नियन्त्रण तथा बढ्दो सवारी चोरीलाई नियन्त्रण गर्ने योजना रहेको पनि उनले सुनाए ।
सिडिओ घिमिरेले पत्रकारहरूलाई कुनै कतैबाट असुरक्षित महसुस भए आफूलाई तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरे । परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक अभिनय कुमार सिंह, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको पनि उपस्थिति थियो ।