पर्सा , जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय ६१ सवारीसाधनलाई कारबाही गर्दै पाँच दिनमा चार लाख पाँच हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
पर्सा ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, मङ्सिर १ देखि ५ गतेसम्म वीरगञ्जको रजतजयन्ती चोकदेखि गण्डक चोकसम्मको बाइपास र ४० फिटे इनर बाइपास सडक किनारमा अनधिकृत रूपमा सवारीसाधन पार्किङ गर्ने विरुद्ध विशेष अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा दैनिक ३० भन्दा बढी सवारीसाधनलाई ह्वील लक गरिएको छ । प्रहरीले २०८ वटा ट्रक र ट्याङ्करबाट दुई लाख ३७ हजार रुपैयाँ,
३५ वटा कार, जिप र भ्यानबाट २६ हजार रुपैयाँ,१७ वटा ट्याम्पबाट १५ हजार रुपैयाँ,७ वटा बस र मिनी बसबाट ६ हजार ५ सय रुपैयाँ,११ वटा ट्याक्टरबाट ९ हजार ५ सय रुपैयाँ,१८३ वटा मोटरसाइकलबाट एक लाख १० हजार ५ सय रुपैयाँ जरिवाना संकल्न गरेको छ । महानगरका विभिन्न स्थानमा अनधिकृत पार्किङ र ट्राफिक नियम उल्लङ्घनका घटना दोहोरिइरहेका छन् । भन्सार क्षेत्रदेखि मितेरी पुलसम्म भारतीय सवारीसाधनहरूको अनधिकृत पार्किङ अझै रोक्न नसकिएको स्थानीयहरूले बताएका छन् ।
विशेष गरी, भारतीय नम्बर प्लेट भएका चार चक्के सवारीसाधन भन्सार क्षेत्रमा २४ सै घण्टा पार्किङ भइरहेका छन् । स्थानीयका अनुसार, केही नेपाली नागरिकहरूले भारतीय सवारीसाधन खरिद गरी भन्सार राजस्व छली गरिरहेका छन् । यस क्षेत्रको अनधिकृत पार्किङ व्यवस्थापनमा सशस्त्र प्रहरी र जनपद प्रहरीको मिलेमतो रहेको आरोपसमेत लगाइएको छ ।
ट्राफिक नियम उल्लङ्घन र सवारी दुर्घटनामा कमी ल्याउन पर्सा ट्राफिक कार्यालयले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । इन्स्पेक्टर भट्टले चालकहरूलाई जिम्मेवार बनाउन ट्राफिक सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।
भन्सार क्षेत्रमा देखिएका समस्या समाधान गर्न स्थानीय प्रशासन र प्रहरी निकायको सहकार्यमा थप प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।