चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा प्रथम चन्द्रपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा संघर्ष युवा क्लब, चन्द्रपुर ५ को आयोजनामा टी-२० लीग मेयर कप प्रतियोगिता शुरु भएको हो ।
मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका अन्तर्गतका रौतहटका ६ वटा पालिका र छिमेकी मुलुक भारतका दुई टीम गरी ८ वटा टीमको सहभागितामा वडा नम्बर ८ स्थित बेतौनामा रहेको कोटीहोम क्रिकेट खेल मैदानमा प्रतियोगिता शुरु गरिएको प्रतियोगिताका संयोजक देवराज कार्कीले बताए ।
खेलको उद्घाटन गर्दै नगर प्रमुख सञ्जय कुमार काफ्लेले “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाइ आत्मसात् गर्दै शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिदै रौतहट फुटबलको मात्र नभई क्रिकेटको समेत उर्वर भूमि हो भन्ने कुरालाई प्रमाणित गर्न पनि यस किसिमका प्रतियोगिताको आयोजना हुन जरुरी रहेको बताए । नगर प्रमुख काफ्लेले नयाँ खेलाडी उत्पादन गर्न समेत सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।
उद्घाटन खेलमा गौर नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ४ विकेटले पराजित गर्दै जित निकालेको छ । टस जितेर फिल्डिङ रोजेको गौरले १७.२ ओभरमा ८० रन खर्चेर चन्द्रपुरको सबै बिकेट हात पारेको थियो । ८१ रनको लक्ष्य पाएको गौरले १६.१ ओभरमा ५ विकेटको क्षतिमा जीत निकाल्न सकेको हो ।
गौरको जितमा असाब हुसेनले ४ चौकाको मद्दतमा २३ रनको योगदान गरे । १४ बल खेलेका रियाज शेखले ३ चौकासहित १४ रन जोडे । पहिला ब्याटिङ गर्न मैदानमा आएको चन्द्रपुरले १७.२ ओभरमा ८० रनमै सबै विकेट गुमाएको थियो । चन्द्रपुरका तर्फबाट गौरब खड्काले ३४ बलमा २२ रन जोडेका थिए भने अभिषेक रौनियारले २४ बलको सामना गर्दै १२ रन जोडेका थिए ।
गौरका बलर आषिक बैठाले १४ बल खर्चेर ४ विकेट हात पारेका थिए । त्यस्तै सनि साहले २ विकेट हात पारे । इस्तियाक अली, रोहित क्षेत्री र रियाज शेखले एक/एक विकेट लिए । खेलमा गौरका बलर आषिक बैठालाई म्यान अफ द म्याच घोषित गरिएको कार्यक्रम संयोजक कार्कीले दिए ।