सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदै छ । उनीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीले पाँचौँपल्ट अदालतसँग थप म्याद माग्न सक्छ ।
यसअघि २५ कात्तिकमा पाएको १३ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई पुनः अदालत पेस गर्न लागेको हो । २ कात्तिकमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि पोखरा, बुटवल, चितवन र काठमाडौंका चार सहकारीको बचत ठगी आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि उनलाई पोखराबाटै बुटवल पु¥याएर त्यहाँको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा बयान लिइएको थियो । उनीविरुद्ध चितवन र काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । केही दिनभित्रै उनलाई प्रहरीले काठमाडौं ल्याएर बयान लिन सक्छ ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेसहित गोरखा मिडियाका तत्कालीन सञ्चालकहरू जीबी राई र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यो समितिलाई मानेरै रास्वपाले आफ्नो तर्फबाट सांसद शिशिर खनाललाई सदस्यका रूपमा सिफारिस गरेको थियो । ९९ दिन लगाएर समितिले तयार पारेको प्रतिवेदन निचोडमा खनाल स्वयम्ले पनि हस्ताक्षर गरेका छन् ।
विभिन्न ५ सहकारीबाट गैरकानुनी ढंगले गोरखा मिडियामा भित्र्याइएको ६५ करोडभन्दा बढी रकम जीबी, रवि र छविको संयुक्त खातामार्फत खर्च भएकाले उनीहरू कारबाहीको भागिदार रहेको समितिको निष्कर्ष थियो । सोही सिफारिसको आधारमा अजोज ५ गते छवि र कात्तिक २ गते रवि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
रास्वपाले भने सभापति पक्राउको विषयलाई राजनीतिक प्रतिशोध भनेर आन्दोलन गरिरहेको छ ।