अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारत २ सय ९५ रनले विजयी भएको छ । योसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
घरेलु टिम अस्ट्रेलियाले भने पहिलो टेस्टमा निकै खराब प्रदर्शन गर्यो । भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ३८ रन मात्र बनाउन सक्यो ।
उसका लागि ट्रभिस हेडले ८९, मिचेल मार्शले ४७, एलेक्स क्यारीले ३६, स्टिभ स्मिथले १७ र मिचेल स्टार्कले १२ रन जोडे । भारतका लागि जसप्रित बुमराह र मोहम्मद सिराजले तीन/तीन, वासिङ्टन सुन्दरले दुई तथा नितिशकुमार रेड्डी र हर्षित रानाले एक/एक विकेट हात पारे ।
अस्ट्रेलिया पहिलो इनिङमा १ सय ४ रनमै अलआउट भएको थियो । उसले पहिलो इनिङमा ५१.२ ओभर मात्र खेल्न सक्यो । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ११२ बलमा दुई चौकासहित सर्वाधिक २६ रन बनाए ।
यस्तै, एलेक्स क्यारीले २१, ट्रभिस हेडले ११ र नाथन म्याकस्विनीले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्नेक्रममा भारतका लागि कार्यवाहक कप्तान जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरे ।
उनले १८ ओभरमा ६ मेडनसहित ३० रन दिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै, हर्षित रानाले तीन र मोहम्मद सिराजले दुई विकेट हात पारे । उनीहरूको उत्कृष्ट बलिङका कारण भारतले ४६ रनको अग्रता पाएको थियो ।
पर्थ स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा ४९.४ ओभरमा १ सय ५० रनमा अलआउट भएको थियो । उसका लागि नितिशकुमार रेड्डीले ५९ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ४१ रन बनाए । यस्तै, ऋषभ पन्तले ३७, केएल राहुलले २६ र ध्रुव जुरेलले ११ रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि जोस हेजलउडले चार, मिचेल स्टार्क, मिचेल मार्श र प्याट कमिन्सले दुई/दुई विकेट लिए ।
भारतले दोस्रो इनिङ ४८७/६ को स्थितिमा समाप्तीको घोषणा गर्यो । उसका लागि यशस्वी जैसवालले १६१, विराट कोहलीले अविजित १ सय, केएल राहुलले ७७, नितिशकुमार रेड्डीले अविजित ३८, वासिङ्टन सुन्दरले २९ र देवदत्त पाडिक्कलले २५ रन बनाए ।
अस्ट्रेलियाका लागि नाथन लियोनले दुई, मिचेल स्टार्क, प्याट कमिन्स, जोस हेजलउड र मिचेल स्टार्कले एक/एक विकेट लिए । भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट म्याच ६ डिसेम्बरदेखि सुरु हुनेछ ।