काठमाडौँ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदैछ ।
काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि अदालतबाट पक्राउ अनुमति जारी भएको छ । योसँगै उनलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएको हो ।
बिहानै ल्याउने भनिएको भए पनि टिकटमा समस्या भएका कारण उनलाई बिहान ल्याउन नसकिएको प्रहरीले जनाएको छ । टिकट मिलेपछि काठमाडौँ ल्याइने भएको छ ।
प्रहरीका अनुसार उनलाई भोलिसम्म काठमाडौँमा राखेर बयान लिइने छ भने त्यसपछि चितवन लगेर बयान लिइने छ । स्रोतका अनुसार यही बेलामै पर्सा प्रहरीले पनि पक्राउ पुर्जाी जारी गरेमा उनलाई चितवनबाट वीरगञ्ज लगेर बयान लिइ पोखरा फिर्ता पठाइने छ ।
यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएका लामिछानेविरुद्ध पुर्जी जारी भएको थियो । त्यसपछि लामिछानेलाई रुपन्देही पुर्याई चार दिनमा २२ घण्टा लगाएर बयान लिइएको थियो ।
चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
आइतबार कास्की जिल्ला अदाललतले हिरासतमा राख्न १५ दिन म्याद थप गरिदिएर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
सहकारी ठगीमा इन्कारी जवाफ दिइरहेका लामिछानेले विभिन्न सहकारीमा ऋण तिर्न कोटेको चेक फेला परेका समाचार बाहिरिएका छन् । यस विषयमा उनले जवाफ दिन आलटाल गरेको प्रहरी स्रोतले जनाएको छ ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो ।
काठमाडौँमा छविलाल जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ गते छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।