काठमाडौं, बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एशियाली पहल (साइवाग) रहेका थिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री साहले बालबालिकाहरु भोलिका कर्णधार भएको भन्दै अहिलेको बालबालिकामा भोलिको सुन्दर नेपालको नेतृत्वकर्ता देखिरहेको बताउनुभयो । उहाँले महिला हिंसाविरुद्ध १६ दिने अभियान समेत सुरु भएको भन्नुहुँदै उहाँले सम्मेलनमा सहभागी बालबालिकालाई उमेर नपुगी विवाह नगर्ने र दाइजो नलिने नदिने प्रतिज्ञा गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले कम उमेरमा विवाह गर्ने कानुन २० वर्ष अघि नै बनेको भन्दै कानुनले मात्रै समस्या समाधान नहुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले सम्मेलनले जारी गरेको २५ बुँदे घोषणापत्रलाई परिषदले कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले बालबालिकालाई तेस्रो आँखाबाट क्रियटिभ थिङ्किङ गर्न आग्रह समेत गर्नुभयो । उहाँले फिनल्याण्डमा ३२ वर्षको उमेरमा प्रधानमन्त्री भएको उदाहरण दिँदै अहिलेका बालबालिकाहरू त्यो अनुहार देखिरहेको बताउनुभयो ।
कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले एउटा चियापसलमा बनेको योजनाले भव्य सम्मेलन आयोजना गर्न सम्भव भएको भन्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो । समापन कार्यक्रममा साइवागका महासचिव रिञ्चेन छोपेल, एनएसीजी नेपालकी ऋतु भट्टराई लगायत आयोजक संस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी र सातै प्रदेशबाट आएका बालबालिकाहरु समेतको सहभागिता रहेको थियो ।