आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडा अध्यक्षको निर्वाचन हुँदैछ। मतदातालाई आफ्नो पक्षमा पार्न उमेदवारहरू मतदाताका घर आँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ ।
मौन अवधि प्रारम्भ हुनुअगावै प्रचारप्रसारमा जुटेका उनीहरूले मधेश मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन् ।
यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उम्मेदवार मैदानमा छन् ।
यसअघिको निर्वाचनमा विजयी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चुनाव जित्नैपर्ने दबाबमा छ । गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचनमा आफू जित्ने दाबी गर्छन् । अघिल्लो निर्वाचनमा ५८ मतले पराजित उनी यसपटक मतदाताले आफूलाई जिताउनेमा ढुक्क छन् । सोही निर्वाचनमा तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीबाट क्रमशः मोहम्मद मनान खान र खुरसेद खान तथा राजेशकुमार यादव उम्मेदवार छन् ।
यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए ।
सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।