निर्वाचन आयोगले काठमाडौंमा निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गर्न दुई छुट्टाछुट्टै टोली परिचालन गरेको छ ।
चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंमा आचारसंहिताको उल्लंघन भइरहेको भन्ने सूचना प्राप्त भएपछि आयोगले अनुमगन टोली खटाएको प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।
उनका अनुसार वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको काठमाडौं महानगरपालिका-१६ मा सहसचिव नारायण प्रसाद सापकोटाको नेतृत्वमा टोली खटिएको छ ।
टोलीमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, आयोगकी कानूनतर्फकी उपसचिव सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा रहेका छन् ।
यसैगरी, मेयरका लागि उपनिर्वाचन हुन लागेको कीर्तिपुरमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा टोली खटिएको छ । टोलीमा आयोगका उपसचिव डा थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने रहेका छन् ।
निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिहरूको अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने अधिकारसहित टोलीलाई फिल्डमा खटाइएको छ ।
उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सुक्ष्म अनुगमन भइरहेको समेत आयोगकी प्रवक्ता अर्यालले बताइन् ।
आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्ध गर्न सक्ने प्रवक्ता अर्यालले बताइन् ।