काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । गत कात्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाटै पक्राउ परेका रविको हिरासत बसाइ लामो हुने निश्चित छ ।
रविले तत्कालीन समयमा संसदीय समितिमा दिएको हिन्दी डायलग उनकै जीवनमा चरितार्थ हुने देखिएको छ । ‘लहरो तान्दा पहरो’ भनेजस्तै सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा रविका बारेमा धेरै खुलासा हुँदै गएको एक उच्च प्रहरी अधिकृत बताउँछन् ।
कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उजुरी दिएपछि रवि पक्राउ परेका हुन् । सूर्यदर्शनका बचतकर्ताको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । उनी गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत हुन् ।
रविले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका थिए । अहिले प्रहरी हिरासतमा रहेका बेला सरकारी वकिल कार्यालयमा समेत उनले इन्कारी बयान दिन छाडेका छैनन् ।
तर, रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा रवि आफैंले हस्ताक्षर गरेर बुझाएको ४० लाख ४२ हजारको चेक भेटिएको छ । यो तथ्यले रविको दाबी र इन्कारी बयानलाई ठाडो चुनौती दिएको छ । सहकारी ठगी मुद्दामा रविका विरुद्ध फेला परेको यो प्रमाण उल्लेखनीय सावित हुने देखिन्छ ।
सुप्रिमबाट गोरखा मिडियामा साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो । रवि आफैंका नाममा समेत २ करोड ऋण प्रवाह भएको देखिन्छ ।
सुप्रिमलाई तिरेको रकम रवि आफैंले लिएको ऋण को किस्ता हो वा गोरखा मिडियाका ऋण हो, यसबारे तथ्य बाहिर आएको छैन ।यसबारे प्रहरीले सोध्दा रविले आफ्नो हस्ताक्षरसहित ड्रयरमा राखेको चेक अरू कसैले भरेर बुझाएको होला भन्ने जवाफ दिएका थिए ।
अर्कातर्फ सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दा रविको खातामा ३५ करोड र उनकी पत्नी निकिताको बैंक खातामा १५ करोड बढी कारोबार भएको विवरण फेला परेको छ ।२०७९ को निर्वाचन र त्यसपछि भएको उपचुनाव आसपासमा उक्त रकम रवि र निकिताको खातामा जम्मा भएको प्रहरी स्रोत बताउँछ ।
अमेरिकाबाट फर्केर नेपालमा टेलिभिजन प्रस्तोताको रूपमा काम गरेका रविको खातामा यतिधेरै रकम कसरी जम्मा भयो भन्ने स्रोत प्रहरीले खोजी गरिरहेको छ ।यस विषयमा प्रहरीले निकिताको समेत बयान लिने तयारी गरेको छ ।
कास्कीको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगीपछि चितवनको सहारा र काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रविलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि ल्याउने तयारी छ ।
रवि जोडिएको गोरखा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ पेश्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाटै गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रवि लामिछानेको संयुक्त नाममा २ पटक ऋण लिएको देखिन्छ ।
उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ ।
गोरखा मिडियामा रहँदा ग्लोबल आईएमई बैंकमा जीबी, रवि र छविको संयुक्त खाता सञ्चालन थियो । यी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पुगेको देखिन्छ ।प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले सहकारी ठगी प्रकरणमा रविमाथि विस्तृत अनुसन्धान चलिरहेको बताए । उनले लोकान्तरसँग भने, ‘केही तथ्य र प्रमाणहरू भेटिएका छन्, त्यसलाई भेरिफाई गर्दैछौं ।’