काठमाडौं- काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि आरोप लागेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (आइतबार) दोस्रो दिन पनि बयान लिने क्रम जारी रहेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले अहिले बयान चलिरहेको जानकारी दिए। ‘आज पनि बयान सकिन गाह्रो छ’, उनले भने
बयानका लागि पोखराबाट शुक्रबार काठमाडौं ल्याइएका लामिछानेसँग ६ घण्टाको बयान लिएर हिरासत जिल्ला प्रहरी परिसर काठमाडौं फर्काइएको थियो। हिजो शनिबार परेकाले बयान लिइएन।
आज जिल्ला सरकारी वकिल कार्यालय खुलेकाले उनलाई बयानका लागि लगिएको हो।
उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत कात्तिक २ काठमाडौंबाट पक्राउ गरी उनलाई पोखरा लगिएको थियो।
त्यसयता उनी कास्की जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा छन्। पोखरामा अझै अनुसन्धान सकिएको छैन।
प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
यस्तै उनीविरुद्ध सहारा चितवन सहकारी र वीरगन्जको सानापाइला सहकारी ठगीको आरोपमा पनि अनुसन्धान हुँदैछ। चितवनमा उनीविरुद्ध पूरक जाहेरी दर्ता भइसकेको छ।