काठमाडौं – तीव्र गतिका बलर सोहेल तन्भिरको पाँच विकेटको सहयोगमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।
सोमवार भएको लिगको आफ्नो पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
चितवनका लागि सन्तोष कार्कीले ३१ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक २८ रन बनाए । लुक बेन्केनस्टेइनले १७ बलमा १ चौका र २ छक्काको २२ रन बनाए । उनी जेर्हाड एरास्मसकाे बलमा एलबिडब्लु धरापमा परे । ओपनर हसन इसाखिलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे ।
शरद भेषवाकर ११ रनमा नट आउट रहे । काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट तथा जेर्हाड एरास्मसले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।
काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । काठमाडौंले दोस्रो विकेटका रुपमा आउट भएका लेभिटलाई तन्भिरको बलमा आउट गराएका थिए । लेभिट चौथो ओभरको चौथो बलमा दीपक बोहोराबाट समातिए ।
काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।
तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो । उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए । चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे ।
पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए । शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए ।
तेह्रौं ओभरको पहिलो बलमा लुक बेन्केनस्टेइनद्वारा राशिद खान ९ बलमा ४ रन बनाउँदै आउट भए । राशिद शरद भेषवाकरद्वारा समातिएका थिए । डान डाउथवेटले १८ बलमा नट आउट १९ रन जोडे ।
चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।
आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ।
जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।