वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सरसफाई र हरियाली सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित गौतम बोर्डिङ स्कुलमा आयोजित थियो।
कार्यक्रममा विद्यार्थीसँगै अभिभावक, शिक्षक–शिक्षिका, सुरक्षाकर्मी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागी विद्यार्थीहरूलाई सरसफाई र हरियालीको महत्व, समाजमा सकारात्मक परिवर्तन र विकासका लागि बालबालिकाहरूको भूमिकाका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बीरगंज महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तथा शिक्षा महाशाखा प्रमुख अर्बिद लाल कर्णले बीरगंजलाई स्वच्छ र हराभरा बनाउने दिशामा सबैको सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी काठमाडौँमा जाँदा सफा सोच्ने र बीरगंजमा आएपछि फोहोर सोच्ने मानसिकतालाई परिवर्तन गर्नुपर्छ। यसैको माध्यमबाट मात्रै हाम्रो बीरगंज फोहोरमुक्त र वैभवशाली शहर बन्न सक्छ।“
कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गर्नुभएको थियो। कार्यक्रम अन्तर्गत गौतम स्कुलमा विभिन्न प्रजातिका बोटबिरुवा रोप्ने अभियानसमेत सञ्चालन गरिएको थियो।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई सानैदेखि स्वच्छता र हरियालीको महत्व बुझ्न प्रेरित गर्ने आयोजकहरूको विश्वास छ।
उक्त कार्यक्रमका सहभागीले बीरगंजलाई स्वच्छ, हराभरा र समृद्ध बनाउने अभियानमा योगदान पुर्याउन सबैलाई आह्वान गरेका छन्।