केन्द्रमा एमाले र माओवादी सहितको नयाँ गठबन्धन निर्माण भएसँगै मधेश प्रदेशमा भने सरकार बनाउन साना दल निर्णायक बन्न पुगेका छन्।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै त्यसका बाछिटा प्रदेशसम्म पुगेका छन्। सबैजसो प्रदेशमा सत्ता समीकरण फेरबदल हुने संकेत देखिएसँगै मधेशमा पनि नयाँ तरंग देखिएको छ।
नयाँ बनेको गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) सामेल छन्। यसै अनुसार प्रदेशमा पनि गठबन्धन बन्ने हो भने मधेशमा जसपाका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिन्छ।
मधेश प्रदेशको १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। अहिले बनेको गठबन्धनका दल एमालेका २४, माओवादीका नौ र जसपाका १९ सांसद छन्। कुनै पनि प्रदेशमा रास्वपाका सांसद छैनन्। मुख्यमन्त्री यादवका पक्षमा ५२ सांसद मात्रै पुग्छन्।
यादव नेतृत्वको सरकारलाई निरन्तरता दिन गठबन्धनलाई साना दलको समर्थन आवश्यक पर्छ। अहिले प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपाल संघीय समाजवादी पार्टी, राप्रपाका एक-एक जना र स्वतन्त्र सांसद एक जना छन्। संघीय समाजवादी र राप्रपा गठबन्धनमा छैनन्।
त्यस्तै, नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खोजेको छ। मुख्यमन्त्रीमा सघाउने पार्टीलाई सहयोग गर्ने बताउँदै आएको छ।
यस्तो अवस्थामा मधेश प्रदेशमा लोसपा, एकीकृत समाजवादी र जनमत पार्टी निर्णायक बन्नेछन्। जनमतका १३, लोसपाका नौ र एकीकृत समाजवादीका सात सांसद छन्।
जनमत पार्टीले सघाउने सम्भावना न्यून छ। किनकि मुख्यमन्त्री यादवसँग कुरा नमिलेपछि जनमतका मन्त्रीले राजीनामा दिएका थिए। जनमतले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको थियो।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। तर यसबारे निर्णय गरेको छैन। सरकारमा सहभागी कांग्रेस संसदीयका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेको बताए।
लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले नयाँ गठबन्धनको असर हेर्न बाँकी नै रहेको बताए। “सरकारबाट हटाउने वा हट्ने विषयमा केन्द्रबाट केही निर्णय आएको छैन,” सोनलले भने, “हामी पर्ख र हेरको अवस्थामा छौं।”
एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले पनि प्रदेशको नेतृत्वको विषयमा टुंगो लाग्न बाँकी रहेको बताए। मुख्यमन्त्रीका लागि भने एमालेको दाबी रहने उनको भनाइ छ। “मधेश प्रदेशको सबैभन्दा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने दाबी स्वाभाविक छ,” यादवले भने।
अहिले जसपाले सरकारको नेतृत्व गरिरहेको छ। अब के गर्ने भन्ने विषयमा जसपा नेताहरू पनि अलमलमै छन्। जसपाका प्रवक्ता मनीष सुमनले कांग्रेसले गर्ने निर्णयमा भर पर्ने बताए। “गठबन्धन फेरिएपछि नेपाली कांग्रेसका मन्त्रीले आफैं राजीनामा दिन उपयुक्त हुन्छ,” सुमनले भने।