काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किङ्सले काठमाडौं गुर्खाजलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ ।
आइतबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै ११७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे ।
उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । उनी २०औँ ओभरको चौथो बलमा कप्तान करण केसीबाट आउट भए । ओपनर दिपक बोहोराले २४ बलमा २ चौकाको सहयोगमा २० रन बनाए । दिपक नवौँ ओभरको अन्तिम बलमा दिपेश कँडेलबाट एलबिडब्लु आउट भए ।
स्कट एडवार्डस १४ बलमा १५ रन बनाउँदै जेहार्ड एरास्मसको बलमा बोल्ड आउट भए । बसिर अहमद १३ बलमा १३ बनाउँदै आउट भए । बसिरले १५औँ ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका थिए । त्यसपछिको बलमा साहब आलमविरुद्ध ठूलो सटको प्रयास गर्दा बाउन्ड्रिमा भीम सार्कीबाट क्याच आउट भए ।
ओपनर लोकेस बम ९ बलमा ८ रन बनाउँदै डान डाउनवेथटको एलबिडब्लु सिकार भए । निकोलस किर्तन १९ बलमा १२ रन बनाउँदै रन आउट भए । इस्मात आलम ५ रन बनाउँदै दिपेश कंडेलको बलमा बोल्ड आउट भए ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले ३, दिपेश कँडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
काठमाडौं प्लेअफमा प्रवेश गर्न आजको जित आवश्यक छ । हारेमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्नेछन् । अहिले काठमाडौंले विराटनगरविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।