बारा — मध्यकालीन नेपालको इतिहासमा ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको भन्दै बाराको सिम्रौनगढ क्षेत्रलाई संरक्षण गर्ने अभियान चलाइएको छ । पुरातत्त्व विभागको टोलीले हालै गरेको तीन साता लामो अन्वेषणका क्रममा सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा मध्यकालीन विकसित सहरका केही अवशेष फेला पारेको दाबी गरेको छ ।
‘विभिन्नखाले संरचनाले मध्यकालको ११५४ देखि १३७१/७२ सालसम्मका बीचमा सिम्रौनगढ क्षेत्र मध्यकालीन सहरका रूपमा विकसित रहेका प्रमाणहरू प्राप्ति हुन थालेको हो,’ अन्वेषण टोलीमा खटिएका पुरातत्त्व विभागका अधिकृत हरिप्रसाद भुसालले भने, ‘यस क्षेत्रमा त्यस कालका वास्तु संरचना, मानवीय गतिविधि प्राप्तिले यस क्षेत्र मध्यकालीन सहर रहेको तथ्य खुलेको हो ।’
उत्खनन गरिएको हरिहरपुर भन्ने ठाउँ सिम्रौनगढको राजधानीको केन्द्र रहे/नरहेको भन्न नमिल्ने भए पनि सहर रहेको पर्याप्त आधार रहेको उनले दाबी गरे ।
पर्यटन विभागको बजेटले सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर गाउँको सन्दुकियामाईमा आधुनिक सभाहलसहित पर्खाल बनाउने क्रममा प्राप्त सूचनाका आधारमा आपत्कालीन उत्खनन गर्दा मध्यकालीन प्रमाण प्राप्ति भएको भुसालले बताए ।
गत मंसिर ४ देखि २५ गतेसम्म यहाँ उत्खनन गरिएको थियो । त्यसक्रममा यी प्रमाणहरू प्राप्तिपछि पुरातत्त्व विभागले यस स्थलको सुरक्षा गर्न जागरणमूलक अभिमुखी कार्यक्रमसमेत गरेको थियो ।
‘अब चाँडै बजेट व्यवस्थापन गरी सिम्रौनगढको विभिन्न स्थानमा विस्तृत अन्वेषण गरिनेछ,’ अधिकृत भुसालले थपे, ‘यो आपत्कालीन अन्वेषण थियो । अन्वेषणका लागि सिम्रौनगढको ८ स्थानमा संरक्षित क्षेत्र तोकेका छौं ।’ टोलीमा पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत भाष्कर ज्ञवाली, अधिकृत हरिप्रसाद भुसाल, पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारी, छविकार (फोटोग्राफर) नर्मदा श्रेष्ठलगायतका थिए । बेलायतको दुरहाम विश्वविद्यालयले पनि यस क्षेत्रलाई अन्वेषण, उत्खनन र अनुसन्धानका लागि यसअघि नै ‘इन्डिकेट’ गरिसकेको विभागका अधिकृत भुसालले बताए ।
उनका अनुसार प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ को उपदफा ‘क’, ‘ख’ र ‘ग’ मा उल्लिखित विवरणसहितको फलामे बोर्ड लगाई संरक्षित गरिएको छ । उक्त दफामा त्यस स्थलको सुरक्षा, संरक्षण, दण्ड सजायबारे कानुनी व्यवस्था उल्लेख छ ।
‘कसैले खनजोत गरेको पाइएमा कारबाही हुनेछ,’ उनले भने । कंकाली मन्दिर, डढेको चामलजस्तो पाइने अमरपुरस्थित माटोको डिल (सुरक्षा पर्खाल), महन्थ पोखरी, कमलेश्वरनाथ महादेवस्थल, सन्दसकियामाई स्थल, रानीवास मन्दिर, ननसगरा ढाट र कोतवालीलाई संरक्षित क्षेत्रका रूपमा राखिएको हो ।
सिम्रौनगढ–४ हरिहरपुरको सन्दुसकियामाईमा उत्खनन गर्दा वास्तु संरचना (मठमन्दिर र घरमा छाडिएको) र विभिन्न चरणको मानवीय गतिविधि भएको जानकारी पाइएको छ । विभिन्न आकारका इँटा, माटाका भाँडाकुँडा, माटाका खेलौना, फलामका किल्लाहरू, धातुका औंठीहरू (रिङ), शृंगार बनाउने औजार, कलात्मक विभिन्न स्तम्भ तथा अन्य ‘डेकोरेसन’ का सामग्रीहरू प्राप्त भएको बताइएको छ ।
लक्ष्मी साह कान्तिपुर