जनकपुरधाम – छिमेकी मुलुक भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउनुहुने भएको छ। जनकपुरधाममा आयोजन हुन लागेको रामायण काँन्क्लेवको उद्घाटनमा सहभागी हुनको लागि योगी आदित्यनाथ जनकपुरधाम आउन लागेको जनाइएको छ ।
शनिवार जनकपुरधाममा काँन्क्लेवको समुद्घाटनको कार्यक्रम रहेको छ । मुख्यमन्त्री योगी आदित्यनाथ तीन वर्ष पहिला सीताराम विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम आउनुभएको थियो। मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको आमन्त्रणमा मुख्यमन्त्री योगी विवाह महोत्सवमा सहभागी हुनुभएको थियो ।
भारतको उत्तर प्रदेश सरकारको पर्यटन विभागको आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा यसै हप्ता अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको छ ।
भारत सरकारको रामायण सर्किट अन्तरगतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तर प्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको दुई दिवसीय काँन्क्लेवमा उत्तर प्रदेश राज्यका मन्त्रीहरू पनि आउने बताइएको छ । उत्तर प्रदेशको अयोध्या र जनकपुरधामबिच त्रेतायुगकालीन सम्बन्ध रहेको छ ।
त्रेता युगमा भगवान् रामले भगवान् शिवको धनुष (पिनाक)लाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।
भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्त्व भएका स्थलहरूलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न रामायण सर्किट बनाएको छ ।रामायण सर्किटको प्रमुख स्थानहरू मध्ये जनकपुरधाम र धनुषा धाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलङ्कामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।
जनकपुरधाममा पुसको ६ र ७ गते जानकी मन्दिर परिसरमा काँन्क्लेवको आयोजना हुनेछ । काँन्क्लेवमा भजन सम्राट् पद्म श्री अनुप जलौटाको भजन सन्ध्या कार्यक्रम हुनेछ ।
मिथिला नाट्यकला परिषद्ले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरिने कार्यक्रम राखेको छ ।