वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लाको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा आयोजित भेलामा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
भेलामा प्रमुख अतिथि संघीय सांसद तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले जनताका समस्यालाई समाधान गर्ने उद्देश्यले नवीन सोचका साथ अघि बढेको बताउँदै, पार्टीको संगठन सुदृढीकरणका लागि सबै तहका कार्यकर्ताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। “हामी परिवर्तनको वाहकका रूपमा कार्य गर्दैछौँ, त्यसैले स्थानीयस्तरदेखि केन्द्रसम्म जनताको विश्वास जित्न एकजुट भएर अघि बढ्न आवश्यक छ,” उनले भने।
सांसद डा. तोसिमा कार्कीले पार्टीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि नेतृत्वदायी भूमिका खेलिरहेको भन्दै जनताको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको धारणा व्यक्त गरिन्। “हामीले मुलुकमा स्वच्छ राजनीति र जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्ने अभियानलाई निरन्तरता दिनेछौँ,” उनले भनिन्।
कार्यक्रममा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले संगठनको बिस्तार र सुदृढीकरणको महत्त्वमाथि प्रकाश पारे। त्यस्तै, केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभापति इ. तपेश्वर यादवले मधेश प्रदेशमा पार्टीको प्रभावलाई अझ बलियो बनाउनका लागि स्थानीयस्तरमा सक्रियता बढाउनुपर्ने आवश्यकता औंल्याए।
मधेश प्रदेशका उपसभापति राधिका न्यौपानेले पार्टीले लैङ्गिक समानताका मुद्दामा विशेष ध्यान दिँदै आएको र यस क्षेत्रका महिलाहरूलाई पार्टी गतिविधिमा समेट्नका लागि पहल गरिने बताइन्।
भेलाले पार्टीको संगठन सुदृढीकरण, स्थानीयस्तरका चुनौती र अवसर, तथा आगामी रणनीतिहरूबारे छलफल गर्दै, ठोस निर्णयहरू लिएको संयोजक हरि पन्तले जानकारी दिए। कार्यक्रमले स्थानीय कार्यकर्ताहरूमा उत्साह थप्नुका साथै पार्टीको संगठनलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सहजीकरण मधेश प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद कुमारले गरेका थिए ।