वीरगन्ज । वीरगन्ज महानगरपालिकामा आजदेखि तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । डीएभी रुकमिणी बनारसी केडिया स्कुलमा प्रतियोगिता सुरु भएको हो ।
डीएभी स्कुलका संस्थापक स्व. शंकरलाल केडियाको ८९ औँ जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता पुष १३ गतेसम्म सञ्चालन हुने डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रले जनाए । खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगिता अन्र्तगत महानगरका १२ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा डीएभी स्कुलसहित ज्ञानदा, साउथ जोन, मनकामना, कादम्बरी, दिल्ली पब्लिस स्कुल, मुन लाइट, जीवन ज्योती, लिटिल क्लावर, मालिनी, मेरी गोल्ड र काभेरी एकेडेमी गरी १२ विद्यालयका विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिएका छन् ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको सुरुवात गरियो । कार्यक्रमका प्रमुख अतिथि पर्साका सिडिओ अर्यालले दिप प्रज्जवलन गरि खेलको उद्धघाटन गरेका हुन् ।
सो अवसरमा डा.बिजय अग्रवाल, सुनिल केडिया, सन्दिप केडिया, सौरभ केडिया, दिनेश बंका, केडिया आँखा अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्मा, प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान ,उपाध्यक्ष शिवजी गुप्ता, महानगर अध्यक्ष राहुल श्रीवास्तव, अनमोल कोइराला लगायतको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक मिश्रले गरेको कार्यक्रमको सहजीकरण शिक्षिका मेघा दधिजले गरेकी थिइन् ।
मनकामना मावि बिजयी
प्रतियोगिता अन्र्तगत आज भएको उद्धघाटन खेलमा मनकामना मावि बिजयी भएको छ । उसले डीएभी स्कुललाई २–० सेटले पराजित गरेको हो ।
खेलमा मनकामना माविका जर्सी नम्बर १२ का खेलाडी हिमेश चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् ।