२०औं शताब्दीका महान रहस्यदर्शी ओशोको जन्म ११ डिसेम्बर १९३१ शुक्रबारको दिन भारतको मध्यप्रदेश राज्यको रायसेन जिल्लामा कुछवाडा भन्ने गाउँमा भएको थियो । उहाँको बाल्यकालको नाम रजनीश चन्द्रमोहन जैन थियो । उहाँको बुबाको नाम बाबुलाल जैन अनि आमाको नाम सरस्वती जैन थियो ।
उहाँको बुबा मध्यप्रदेश राज्य, नर्सिङ्गपुर जिल्लाको गडरवाडामा सानो कपडा ब्यापारी हुनुहुन्थ्यो । उहाँको बुवा आमाका ११ सन्तानमध्ये ओशो सबैभन्दा जेठो सन्तान हुनुहुन्थ्यो । एक बहिनीको बाल्यकालमा निधन भएपछी ओशोका पाँच भाईहरु र चार बहिनी भए । ओशो सात बर्षको उमेरसम्म मावली हजुरबुवा र हजुरआमाको अपार मायामा हुर्कनुभएको थियो । ओशोले उहाँहरुलाई नाना र नानी भन्नुहुन्थ्यो ।
उहाँ सात बर्षको हुँदा उहाँको नानाको मृत्यु भयो । त्यसपछि उहाँ नानीसहित आफ्नो माता पितासंग बस्न गडरवाडा आउनुभयो । ओशो बाल्यकाल देखिनै बिद्रोही स्वभावको हुनुहुन्थ्यो । एक फिट उचाइको पुलबाट बर्षातमा उर्लिरहेका नर्मदा नदीमा हामफाली पौडी खेल्नु उहाँको लागि सामान्य खेल थियो ।
आफ्नो स्कूलको शिक्षा पूरा गरेपछि उहाँ सन् १९५१ मा उच्चशिक्षा अध्ययनको लागि जवलपुरको हितकारिणी कलेजमा भर्ना हुनुभयो । तर उहाँको बिद्रोही स्वभावको कारण उक्त कलेजमा उहाँलाई धेरै समय पढन दिइएन । त्यसपछि उहाँ जवलपुरकै डीएन जैन कलेजमा भर्ना हुनुभयो । ओशोले आफ्नो जवलपुरको अध्ययन कालमा स्थानीय पत्रिकामा सहायक सम्पादक बनेर काम गरि आफ्नो खर्च आफैं जुटाउनु भएको थियो । सन् १९५५ मा डीएन जैन कलेजबाट दर्शनशास्त्रमा स्नातक तह सकेपछि उहाँ दर्शनशास्त्रमा एमए अध्ययनको लागि सागर विश्वविद्यालयमा भर्ना हुनुभयो ।
उहाँले सन् १९५७ मा जवलपुरको सागर विश्वविद्यालयमाबाट स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरि स्वर्ण पदक प्राप्त गर्नुभयो । त्यसपछि उहाँले छत्तिसगढ राज्यको रायपुरमा रहेको ढुडीधारी संस्कृत कलेजमा लेक्चररको रुपमा पढाउन सुरु गर्नुभयो । सन् १९५८ मा उहाँले जवलपुरको जवलपुर विश्वविद्यालयमामा प्राध्यापकको रुपमा अध्यापन गर्न थाल्नुभयो ।
ओशोको पूर्वजन्मको संस्कार तथा यस जन्मको गहन साधनाले २१ बर्षको उमेरमा २१ मार्च, १९५३ मा जवलपुरको भंवरताल पार्कमा रहेको मौलश्री रुखको फेदमा उहाँको बुद्धत्व घटित भएको थियो । सन् १९५७ पछी उहाँले विश्वविद्यालयमामा अध्यापनको साथसाथै भारतभर घुमिघुमी प्रवचनहरु पनि दिन थाल्नुभयो । त्यसताका उहाँ भारतमा आचार्य रजनीशको रुपमा प्रख्यात हुनुहुन्थ्यो । उहाँले नौ बर्ष अध्यापन गरेपछि सन् १९६६ मा जवलपुर विश्वविद्यालयमाबाट प्राध्यापक पदबाट राजीनामा दिई आफ्नो पूरा समय भारतभरी घुमुघुमी प्रवचन दिने र ध्यान शिविरहरु संचालन गरि मानव चेतनाको जागरणको लागि समर्पित गर्नुभयो । उहाँ सन् १९७० मा जवलपुरबाट मुम्बईको उडल्याण्ड अपार्टमेन्टमा सर्नुभयो ।
उहाँले १९७० को अप्रिलमा २१औं शताब्दीको मनुष्यको लागि एक प्रभावशाली र क्रान्तिकारी ध्यान विधि सक्रिय ध्यान आविष्कार गर्नुभयो । यस धर्तीमा पहिलो पटक सक्रिय ध्यानको आविष्कार भयो । उहाँले २६ सेप्टेम्बर, १९७० मा भारतको मनालिमा भएको ध्यान शिविरमा ‘कृष्ण मेरे दृस्टी मे’ भन्ने प्रवचनको दौरान दशजना साधक साधिकालाई दिक्षा दिइ विश्व अध्यात्मिक आकाशमा नव सन्यासको सुरुवात गर्नुभयो । सन १९७१ ताका उहाँलाई भगवान रजनीश भन्न थालियो ।
यस धर्तीमा ११ डिसेम्बर १९३१ मा ओशो मात्र जन्मिनु भएन । यस धर्तीमा नयाँ अध्यात्मिक अभियान जन्मियो । त्यसपछि यो जगतमा नबिन अध्यात्मिक जागरण जन्मियो । यो धर्तीमा नव सन्यास जन्मियो । यस संसारमा ७५० भन्दा बढी अध्यात्मिक साहित्यहरु सृजन भए । उहाँको जीवनकालमा यस धर्तीमा हजारौ प्रवचन शृंखलाहरु जन्मिए जसमध्ये १० हजार भन्दा बढी रेकर्ड भइ मनुष्यताले मार्गदर्शन प्राप्त गरिरहेको छ । २१औं शताब्दी अनुकुल नया ध्यान बिधिहरु सृजन भए । यस धर्तीमा पहिलोपटक अध्यात्म र विज्ञानको मिलनको दर्शन ओशोसंगै प्रादुर्भाव भयो ।
उहाँको क्रान्तिकारी अध्यात्मिक दर्शनबाट प्रभावित भई उहाँको जीवनकालमै दश लाख भन्दा बढी सन्यासी भए अनि लाखौं मान्छेहरुले उहाँको बिचारलाई अंगाले । उहाँको नयाँ मनुष्यको परिकल्पना ‘जोरबा दि बुद्ध’ को दर्शन अहिलेको बिज्ञान र प्रविधिको आधुनिक युगमा बहुत सान्दर्भिक छ । ओशोको जन्म र जीवनसँग सम्बन्धित अनेकौ रहस्यमय घटनाहरु छन । मैंले यहाँ ओशोको जन्मसंग सम्बन्धित केहि रहस्यहरु उजागर गर्न खोज्दैछु । १६ औं शताब्दीमा फ्रान्समा एक प्रशिद्ध भविश्यवेदा पैदा भएका थिए । उनको नाम नास्त्रेदमस थियो । उनले गरेका सारा भबिष्यबाणी सहि सिद्ध भएका छन् ।
उनले त्यसबेला प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको किटान गरेका थिए । हिटलर र नेपोलियन बोनापार्ट जस्ता शासकहरुको उदय र बिलयका बारेमा आफ्नो पुस्तकमा लेखेर गएका थिए । उनले अब्राहम लिंकनको हत्याको बारेमा समेत भबिश्यबाणी गरेका थिए । ति महान भबिश्यबेत्ताले २०औं शताब्दीमा एक महान धर्मको उदय हुने कुरा उल्लेख गरेका थिए । त्यस धर्मले नै तेस्रो विश्वयुद्धबाट संसारलाई जोगाउने कुरा गरेका थिए । उनले भनेका थिए । त्यो धर्म पूर्वबाट सुरु भइ सारा संसारभर फैलने छ । त्यस धर्मको प्रणेताको नाम चन्द्रमासंग सम्बन्धित हुनेछ । त्यस धर्मको प्रतिक चरा हुनेछ अनि त्यस धर्मका अनुयायीहरुले लगाउने पहिरन रातो हुनेछ र त्यस धर्मका गुरुलाई सारा संसारले दुत्कार गर्नेछ ईत्यादी भबिष्यबाणी गरेका थिए । यी लक्षणहरु महान गुरु ओशो रजनिशमा करिब करिब ठ्याक्कै मिल्न आउछ । यस कुरालाई डा. योगी बिकाशानन्दले समेत एक प्रवचनको क्रममा उजागर गरेका छन् ।
ओशोको नानाले बनारसको एक ज्योतिषसँग उहाँको जन्म कुण्डली बनाउनु भएको थियो । उनले भनेका थिए–यस बालकको २१ बर्षसम्म प्रत्येक सातौ बर्षमा मृत्युको योग छ । ओशोको नानानानीसँग अगाध प्रेम थियो । ओशो सात बर्षको हुँदा उहाँको ननाको मृत्यु भयो । ओशोले आफ्नो नानको मृत्युलाई यति नजिकबाट देख्नुभयो कि उहाँलाई आफ्नै मृत्युजस्तै महशुस भयो । जब ओशो १४ बर्षको हुनुभयो उहाँलाई थाहा थियो ज्योतिषले जन्म कुण्डलीमा मृत्यु हुनसक्छ भनेका छन् । यसलाई ध्यानमा राखी ओशो आफ्नो गाउँ नजिकै रहेको शक्खर नदी नजिकै एउटा शिब मन्दिरमा जानुभयो र त्यहा सात दिनसम्म बहुत होशपूर्ण रुपमा सुतेर बसी मृत्युको प्रतिक्षा गर्नुभयो । सातांै दिन त्यहाँ एउटा सर्प आयो तब उहाँलाई लाग्यो कि यहि उहाँको मृत्यु हो । तर उक्त सर्पले उहालाई केही नगरी गयो । यस घटनाले ओशोलाई मृत्युको साक्षात्कार गरायो ।
ओशो जन्मेको तीन दिनसम्म रुनु पनि भएन र आमाको दुध पनि खानुभएन । ओशोको परिवार यसले गर्दा चिन्तित बन्यो । तीन दिन पछाडि उहाँ रुन पनि थाल्नुभयो अनि आमाको दुध पनि खान थाल्नुभयो । त्यसबेला भारतमा पहिलो बच्चा माइतमा जन्माउने प्रचलन थियो । ओशो गर्भमा हुँदा उहाँका मामाले उहाँका आमालाई लिएर ओशोको मामाघर जाँदै हुनुहुन्थ्यो । बाटोमा एउटा ठुलो नदी पर्दथ्यो र उक्त नदीमा डुंगाबाट पार गर्नु पर्दथ्यो । त्यहाँ मामा र भान्जासँगै डुंगामा यात्रा गर्दा डुंगा डुब्न सक्छ भन्ने प्रचलन भएको हुँदा त्यस डुंगाको नाबिकले भन्यो यि गर्भवती महिला र तपाइँसंगै डुंगामा यात्रा गर्न हुँदैन । कि मामा मात्र यात्रा गर्नुहोस अथवा ओशोकी आमा मात्र । रात परिसकेको थियो । त्यो डुंगा अन्तिम डुंगा थियो ।
त्यसपछि उहाँहरु नदी किनार नजिकै रहेको एक आश्रमका गुरु जसलाई साइबाबा भनिन्थ्यो त्यहाँ जानुभयो र सहयोग माग्नुभयो । ति गुरुले नबिकलाई बोलाएर भन्नुभयो यि महिलाको गर्भमा महान आत्मा छ र यसले हजारौं मान्छेहरुलाई तार्छ । तिमी ढुक्कसँग डुंगा चलाउ तिम्रो डुंगा डुब्दैन । त्यसपछि नबिकले उहाँहरुलाई डुंगामा राखी नदी पार गरायो । यो कुरा ओशो स्वयंले आफ्नो पुस्तक ‘दि ग्लिम्सेस अफ गोल्डेन चाइल्ड हुड’ मा भनेका छन् । यस धर्तीमा मानव जातिको इतिहासमा ओशो रजनीशजस्ता बहुआयामिक व्यक्तिको कहिल्यै जन्म भएको पाइदैन । उहाँमा जति अभिब्यन्जनाको विविधता, कार्यकुशलताको विचित्रता र जिवनशैलीको स्वतन्त्रता कसैमा पलाएको पाइदैन । यो धर्तीमा उनी पहिलो व्यक्ति हुन जसमा विविध धर्म, बिज्ञान, मनोविज्ञान, कला, साहित्य, संस्कृति तथा सम्पूर्ण मानविय विधाहरु सम्मिलित हुन आए । उनी मानव इतिहासका पहिलो व्यक्ति हुन् जसले विश्वका सम्पूर्ण धर्मका विविधता बीच एकता र एकता बीच विविधताको मार्मिक ब्याख्या गर्न सफल भए ।
नेपालमा ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुण आफ्नो पुस्तक सन्तगाथामा ओशोको सम्बन्धमा भन्नुहुन्छ । सन् १९३१ मा यस पृथ्वीमा क्रान्तिको एक अग्निपुष्प खिल्यो । त्यो पुष्पको राप सारा संसारमा फैलियो र त्यो फैलनेक्रम निरन्तर तिब्र हुँदै गइरहेको छ । व्यक्तिमा शान्ति र समाजमा क्रान्तिको बिगुल फुक्ने ओशोले व्यक्तिको मौलिक स्वतन्त्रता, धर्मको पेवा बनेको पाखण्डको पूर्ण बिरोध, शोषणको पेवा बनेको धर्मलाई तर्क, बौद्धिकता, र विज्ञानको अग्नि परीक्षाबाट गुजारे । बौद्धिक, चिन्तनशील, धर्मप्रति निराश र वितृष्णाले भरिएका व्यक्तिलाई पनि धर्मको बैज्ञानिक संस्करण प्रस्तुत गर्दै धर्ममा जीवन्त आकर्षण एबम ताजगी थपिदिए । जसले गर्दा संसारभरका नव युवकहरु उनको दर्शनमा आकर्षित भए । स्वामी आनन्द अरुण ओशोलाई यस धर्तीका अनौठा र अदितीय बुद्धपुरुष भन्नुहुन्छ । (लेखक स्वामी ध्यान आशिष ओशो सन्यासी हुन्)