पर्सा राष्ट्रिय निकुञ्ज विस्तार हुँदा विरोधका बावजूद पनि राज्यका अघि चुपचाप निरीह बस्नुुपरेका स्थानीयहरू केही वर्ष यताबाट निकै दुुःखी, डर एवं त्रासमा बस्दै आएका छन् । निकुञ्ज विस्तारसँगै जङ्गली हात्ती, बाघ, चितुुवा जस्ता वन्यजन्तु मानवबस्तीमा प्रवेश गर्दै ज्यान लिने, जनधन, बालीनालीको क्षति पु(याउँदै आइरहेपछि प्रभावित बासिन्दाहरू वन्यजन्तुबाट दिनरात भयभीत र त्रसित बनेका छन् ।
करीब तीन महीनादेखि बाराको कोल्हवी नगरपालिकाका हनुमानगंज, झुरझुरे, भलुवाहीखोर, निकास, सपही, बोधवन, जुगवा, ककडी, पर्सौना लगायतका वन क्षेत्रनजीक र आसपासका एक दर्जनभन्दा बढी मानवबस्ती हात्ती, बाघ, चितुवा जस्ता जङ्गली जनावरको त्रासमा बाँचिरहेका छन् । अहिले दिनहुँजसो साँझ पर्ने बित्तिकै जङ्गली हात्ती घरआँगनमा देखिने गरेपछि स्थानीयवासीमा त्रास बढेको हो । जङ्गली हात्तीको त्रासले घरका साना बालबच्चा, वृद्धवृद्धा, अपाङ्ग, अशक्त सबैलाई ज्यान जोगाउन मुश्किल परेको छ ।
सोमवार राति जङ्गली हात्तीले स्थानीय राजु भुजेलको घरआँगनमा राखेको भकारी भत्काइ धान नष्ट गरेको थियो । “काठे घरको तल्लो तलामा आमा सुत्नुभएको थियो । ज्यानको माया मारेर माथि चोटामा लगी आमाको ज्यान जोगाएँ,” उनले भने । आफ्नो भान्साघर पनि तीन दिनअघि हात्तीले भत्काएको बालकुुमारी भुजेलले बताइन् ।
“बडेमानको हात्ती हेर्दै डरलाग्दो अजङ्गको छ । झन्डै मलाई हात्तीले घिसार्न भ्याएको हतपत बूढाले तानेर बचाउनुभयो,” ७८ वर्षीया बालकुमारी भुजेलले लामो सास फेर्दै भनिन् ।
त्यसैगरी, हनुमानगंजका बेनीबहादुर मैनाली, मानबहादुुर भुजेल, उद्धव उप्रेती, बहादुर वाईवा, हरिबहादुर मैनालीलगायत २० जनाभन्दा बढी स्थानीयका घर, भकारी, उखु, केरा, आलु, तोरी, मकैलगायतका बालीनाली नष्ट गरेको पीडितहरूले बताए ।
अहिले एक महीनादेखि जङ्गली हात्तीको आतङ्क दैनिक बढेकाले सानो, फुसको, काठेघर हुनेहरू साँझ पर्ने बित्तिकै घरै छाडेर रातभर सुरक्षित स्थानतर्पm लाग्ने गरेको वडाध्यक्ष गोपालप्रसाद अधिकारीले बताए ।
उनले भने– “हाती आतङ्कले रातभरि सुत्न पाएका छैनौं । बस्तीमा पसेको देख्ने बित्तिकै होहल्ला शुरू हुन्छ ।”
विगत वर्ष जस्तै यस वर्ष पनि तीन महीनादेखि जङ्गली हात्ती साँझ र रातको समय बस्तीमा पस्दै भण्डारण गरी राखिएका धान, गहुुँ, मकैलगायतका अन्न खाने र घर भत्काउने गर्दै आइरहेको स्थानीयहरू बताउँछन् । दिनभरि बस्तीनजीकैको वन क्षेत्रमा बस्ने एक्लो जङ्गली हात्तीले मानिसलाई आक्रमण गर्ने डरले स्थानीयहरू त्रसित भएको भन्दै स्थानीय छवि उप्रेतीले सोमवार घटनास्थलमा पुगेका डिभिजन वन कार्यालय, बाराका प्रमुख राजीवकुुमार झालाई दुःखेसो पोखे ।
२०८१ असोज २८ गते कोल्हवी नगरपालिका–२ का ६३ वर्षीय हस्तबहादुुर थोकरको ज्यान जङ्गली हात्तीको आक्रमणबाट गएको थियो । केही वर्ष अघिको तथ्याङ्क अनुसार अहिलेसम्म कोल्हवीमा छजनाको ज्यान जङ्गली हात्तीले लिइसकेको छ । २०६९ मङ्सिर ११ गते कोल्हवी नगरपालिका–२ भलुवाहीखोरमा बस्ने ४५ वर्षीया देवकी आचार्य, ४० वर्षीया शारदा शर्मा, मङ्सिर १४ गते कोल्हवी नगरपालिका–३ जुगवा बस्ने ७० वर्षीय सुरज चौधरी, २७ वर्षीय सुदर्शन चौधरी र वडा नं ५ बस्ने ४२ वर्षीया असमीदेवी थरुनीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमेको थियो ।
मानव र वन्यजन्तुको द्वन्द्वलाई बेलैमा न्यूनीकरण गर्नेतर्पm सम्बन्धित निकायले बेलैमा समाधनका उपाय निकाल्न ढिलाइ गर्न नहुने कोल्हवीका नगरप्रमुख रामप्रसाद चौधरी बताउँछन् ।
कोल्हवी नगरपालिका र अन्य छिमेकी पालिकाहरूमा गरी एक दशकमा ११ जना जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख झाले जङ्गली हात्तीले विगतका वर्षदेखि नै पटकपटक वन क्षेत्रनजीक र आसपासका बस्तीमा प्रवेश गरी जनधनको क्षति गर्ने गरेको पाइएको बताए ।
उनले अहिले हात्तीले गरेको क्षतिको प्रकृति हेर्दा धपाउनेभन्दा नियन्त्रण गर्नुपर्ने देखिएकोले सम्बन्धित निकाय पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा पत्राचार गरी समन्वय गर्ने र बस्तीलाई सुरक्षित गर्ने उपायहरू शुरू गर्न तत्काल मातहतका निकाय वन सुरक्षाकर्मी, निकुञ्जका नेपाली सेना, नगरपालिकालगायतका टोलीले संयुुक्त गस्ती गर्नेगरी समन्वय गरेको बताए ।
अहिलेसम्म जङ्गली हात्तीलगायत अन्य वन्यजन्तुले बालीनाली नोक्सान गरे पनि जग्गाधनी पुर्जा नभएको कारण यहाँका मानिसहरूले क्षतिपूर्ति भने पाएका छैनन् ।