मधेश प्रदेशले जय ट्रफी पुरुष एलिट कपका लागि टिम घोषणा गरेको छ ।
जय ट्रफी पुरुष एलिट कपका लागि मधेश प्रदेशले हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । हरिशंकको कप्तानीमा घोषणा गरिएको टिममा अभिषेक तिवारी, रुपेश सिंह, मयन यादव, निरजकुमार यादव, साहिल पटेल, भुलवन सहनी, रञ्जित कुमार, विशाल पटेल र राजेश यादव छन् ।
यसैगरी, प्रदीप पासवान, अफ्रुद्दिन रायन, हिमान्सु दत्त, राहुल मण्डल र शैलेन्द्र साह पनि टिममा परेका छन् । मधेश प्रदेशका नियमित सदस्य तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर अनिल साहलाई टिममा छैनन् । अनिलले नेपाल प्रिमियर लिग (एनपीएल) का दौरानमा हातमा चोट बोकेकाले जय ट्रफी कप गुमाउने भएका छन् ।
६ पुसमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सलाई जिताएका अनिल चोटका कारण जय ट्रफी नखेल्ने भएका हुन् । अनिलले एनपीएलको दौरानमा हातमा चोट बोकेका थिए । हातमा चोट लागेपछि अनिलले एनपीएलको प्ले अफ र फाइनल खेल गुमाएका थिए ।
मधेश प्रदेशले पहिलो दिन २१ पुसमा बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुरुष एलिट कप मधेश प्रदेशको राजधानी जनकपुर र वीरगन्जमा हुँदै छ । २१ पुसदेखि सुरु हुने प्रतियोगिता ३ माघसम्म चल्नेछ ।
प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, बागमती र मधेश प्रदेशले शीर्ष चारमा स्थान सुरक्षित गरेका थिए । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश चौथो भएको थियो ।