काठमाडौं – सांसद एवं पूर्वमन्त्री प्रेम आले र मानव अंग प्रत्यारोपण केन्द्रका डाइरेक्टर वरिष्ठ मृगौला प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द श्रेष्ठलाई विश्व हिन्दू महासंघद्वारा प्रदान गरिएको "विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड" प्रदान गरिएको छ। भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उहाँलाई यो प्रतिष्ठित अवार्ड हिन्दू धर्म संरक्षण र सम्बर्धनमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिएको हो।
समारोहमा हिन्दू धर्मका अगुवा कालीबाबा र शंकराचार्य सहित विश्व हिन्दू महासंघका पदाधिकारीहरूले अवार्ड प्रदान गरेका थिए। यस अवसरमा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष पूर्वमन्त्री डा. अजय सिंह, भारतका वरिष्ठ समाजसेवीहरू, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा सो अवार्ड वितरण गरिएको थियो।
विश्व हिन्दू महासंघले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु, र सनातन हिन्दू धर्मको संरक्षण तथा सम्बर्धनमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ।
पूर्वमन्त्री प्रेम आले र डा. पुकार चन्द श्रेष्ठसँगै बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवी एसएस अग्रवाल र निता अम्बानी, भारतीय उद्योगपति गीताञ्जली कर्लाेस्कर, अमेरिकाका स्वामी जय पतका, र अन्य नामचिनिएका व्यक्तित्वहरूलाई पनि यो अवार्ड प्रदान गरिएको छ।
समारोहमा बोल्दै पूर्वमन्त्री आलेले आफूलाई यो प्रतिष्ठित अवार्ड प्राप्त भएकोमा खुशी व्यक्त गर्दै, हिन्दू सनातन धर्मको रक्षा र सम्बर्धनमा आफू आगामी दिनमा पनि सक्रिय रहने कुरा भने। उनले विश्व हिन्दू महासंघलाई धन्यवाद पनि दिए।
उक्त समारोहमा हेमानन्द गिरी, विश्व हिन्दू महासंघका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंह ,नेपाल विश्व हिन्दु महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय प्रकाश् निषाद महासचिव अभिषेक तिवारीले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाएकामा उक्त महासंघ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।