वीरगञ्ज - सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले शनिबार पर्साको पकहाँ मैनपुर गाउँपालिका–३ मा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। उक्त शिविरबाट पाँच सयभन्दा बढी सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाएका छन्।
पकहाँ मैनपुरका रामचरित्र भगवत माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला, पुरुष र बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल फिजिसियन र आँखा सम्बन्धी विशेषज्ञ सेवाहरू प्रदान गरिएका थिए।
सशस्त्र प्रहरीको आयोजनामा प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, वीरगञ्ज सामुदायिक आँखा केन्द्र, रोहित फाउन्डेसन र क्वेष्ट फर्मास्युटिकलको सहकार्यमा सञ्चालन गरिएको शिविरमा निशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको थियो। शिविरमा डा. रविशंकर साह, डा. लक्ष्मी थापा, डा. अरविन्द साह, नेत्र अधिकृत महेशसिंह धामी लगायतका विशेषज्ञहरूले सेवा दिएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति राधेश्याम धिमालले स्वास्थ्य शिविरको मुख्य उद्देश्य सीमा क्षेत्रमा सुरक्षामा खटिएको प्रहरी र स्थानीय जनताबीचको सम्बन्ध सुधार गर्नु रहेको बताए। उनले भने, “सीमामा मात्र खटिने नभई सशस्त्र प्रहरीले जनताको स्वास्थ्यप्रति पनि ध्यान दिनु आवश्यक छ। यस शिविरले सीमावर्ती जनतालाई लाभान्वित गरेको छ।”
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्ता शिविरले सशस्त्र प्रहरी र जनताबीचको सम्बन्ध थप बलियो बनाउने बताए। उनले भने, “यस्ता शिविरलाई निरन्तरता दिनु आवश्यक छ। यसले जनताको स्वास्थ्य सुधारसँगै सामाजिक विश्वास पनि बढाउँछ।”
पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद मेहताले शिविरले गाउँपालिकाका बासिन्दालाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराएको बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीको यो पहललाई उदाहरणीय कदम भन्दै निरन्तरता दिनुपर्ने बताए। शिविरले सीमावर्ती जनताको जीवनस्तर सुधारमा टेवा पुर्याउने विश्वास गरिएको छ।