भारतीय कप्तान जसप्रित बुमराह घाइते भएका छन्। सिड्नीमा जारी अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको अन्तिम खेलको दोस्रो दिन खेलको सुरुआतमै बुमराह चोट बोक्दै मैदानबाट बाहिरिएका थिए।
दोस्रो दिन १ ओभर मात्र बलिङ गरेका बुमराहको पछाडिको मांशपेसीमा समस्या देखिएको बताएको छ। खेल सुरु भएलगत्तै मैदान छाडेका बुमराह स्थानीय समयअनुसर दिउँसो २ बजे टिमका डाक्टर र सुरक्षकर्मीसँग ड्रेसिङ रुमबाट बाहिर निस्किएका थिए।
दोस्रो दिनको खेल सकिएपछि प्रेसकन्फ्रेन्समा भारतीय बलर प्रसिद्ध कृष्णाले बुमराहको पछाडिको मांशपेसीमा समस्या भएको बताए।
‘हो, उनको पछाडिको मांशपेसीमा समस्या भएको छ, खेलकै बीचमा स्क्यानका गरिएको छ,’ उनले भने, ‘उनी चिकित्सकको टोलीको निगरानीमा छ, चिकित्सको सल्लाह अनुसार नै उनले बाँकी खेल नखेल्ने टुंगो लाग्छ। ’
जारी सिरिजमा बुमराहले सबैभन्दा धेरै ओभर बलिङ गरेका छन्। उनको वर्कलोडका बारेका यसअघि नै चिन्ता व्यक्त गरिएको थियो। ५ खेलका ९ इनिङ्समा बुमराहले १५२.१ ओभर बलिङ गरेका छन्, जसमा १३.०६ को औसतमा सर्वाधिक ३२ विकेट लिएका छन्।
उनले बिशन बेदीको रेकर्ड तोड्दै अष्ट्रेलियामा भारतका सबैभन्दा धेरै विकेट लिने बलरको रूपमा नयाँ रेकर्ड बनाएका छन्।
बुम्राहले बिहानको सत्रमा पाँच ओभरमध्ये तीन ओभर मैदान बाहिर बिताएका थिए। उनी अन्तिम दुई ओभरको लागि मैदानमा फर्किएका थिए। उनले लञ्चपछि पुनः बलिङ गरेका थिए। जसमा उनको बलिङको गति पनि निकै कम थियो। त्यो ओभर लगत्तै बुमराहले पुनः मैदान छाडेका थिए।
मेलबर्न टेस्टमा मात्रै बुमराले कुल ५२ ओभर बलिङ गरेका थिए। यो उनले एकै टेस्टमा गरेको सबैभन्दा धेरै बलिङ हो। खेलपछि कप्तान रोहित शर्माले पनि बुमरामले धेरै ओभर बलिङ गरेकोमा चिन्ता व्यक्त गरेका थिए।
खराब फर्मका कारण नियमति कप्तान रोहित शर्मा सिड्नी टेस्टमा टिममा नरहेपछि बुमराहले भारतीय टिमको नेतृत्व गरिरहेका थिए। बुमराह मैदानबाट बाहिरिएपछि मैदानमा टिमलाई सिनियर खेलाडी विराट कोहलीले नेतृत्व गरेका थिए।
भारतका लागि यो टेस्ट निकै मत्वपूर्ण छ। ५ खेलको सिरिजमा २(१ले पछि परेकाले सिरिज जोगाउन यो खेल जित्नै पर्ने दबाबमा भारत छ। तर, मुख्य बलर बुमराहको चोटले भारतलाई घाटा हुनसक्छ।
चौथो टेस्टपछि रोहितले बुमराम उत्कृष्ट फर्ममा रहेकाले उनीबाट धेरै अपेक्षा भएकाले उनलाई धेरै ओभर बलिङ गराइएको बताएका थिए। बुमरालाई चाँडै विश्राम दिनुपर्ने समय आउनेमा पनि आफू सचेत रहेको उनले बताएका थिए।
कप्तानका रुपमा आफू बुमराहप्रति निकै सतर्क रहेको बताउँदै रोहितले खेलकै बीचमा पनि बुमराहले कस्तो महसुस गरिरहेका छन् भने आफूले कुरा गर्ने गरेको उनले बताए।