वीरगन्ज –कुहिरो र चिसो बढेसँगै वीरगन्ज महानगरपालिकाले कठ्याङ्ग्रिने जाडोबाट जनतालाई राहत दिने उद्देश्यले विभिन्न २५ स्थानमा दाउरा बाल्ने व्यवस्था गरेको छ। यो पहलले बटुवा, बिरामीका कुरुवा र सर्वसाधारणलाई राहत पुगेको छ।
महानगरले नारायणी अस्पताल, नयाँ बसपार्क चौक, घण्टाघर चौक, माईस्थान चौक, मुर्ली चौक, पावरहाउस चौक, जिल्ला समन्वय समिति अगाडि चौक, रानीघाटका दुई स्थान, नेशनल ट्रेडिङ चौक, श्रीपुर कृषि चौक, वडा नं. ११ मस्जिद चौक, गणेशमान चौक, नगवा प्रहरी चौकी नजिक, ६ नं. गेड चौक, मालपोत चौक, श्रीराम हल चौक, महावीर मन्दिर चौक, एडभान्स अस्पताल अगाडि, ईदगाह चौक, राधेमाई टोल, राधेमाई चौक, आदर्शनगर लोहारपट्टी चौक, प्रतिमा चौक, र अमर चौक लगायतका स्थानमा आगो बालिएको हो।
विशेष गरी ग्रामीण क्षेत्रबाट आउने जाने बटुवाहरू र उपचारका लागि आएका बिरामीका कुरुवाहरूलाई राहत पुर्याउने उद्देश्यले बालिएको आगोले चिसोबाट बच्न महत्वपूर्ण सहयोग पुर्याएको छ।
वीरगन्ज महानगरपालिकाले समाजमा देखिएको कठिनाइ समाधान गर्न थालेको यो प्रयास स्थानीय नागरिकले सराहना गरेका छन्। चिसो मौसमका कारण प्रभावित समुदायलाई यो कदमले थप सहज बनाएको छ।