वीरगञ्ज । हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाईन्छ । यस वर्ष भोली महाशिवरात्री पर्व परेको हुँदा आज शान्ति र्याली निकालेर दिवस मनाइएको छ ।
आमा नेपाल फाउण्डेशन, वीरगञ्ज महानगरपालिका, वीरगञ्ज नर्सिङ् क्याम्पस, हरिखेतान बहुमुखी क्याम्पस, सामुदायक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताको संयुक्त सहकार्यमा दिवस मनाइएको हो ।
“महिलामा लगानी, सभ्य र सम्मुन्नत समाजको थालनी” भन्ने नाराका साथ दिवस मनाइएको आमा नेपाल फाउण्डेशनकी अध्यक्ष प्रमिता मानन्धरले बताइन् । उनकाअनुसार वीरगञ्जको विर्ता मन्दिरबाट सुरु भएको शान्ती र्याली नगर परिक्रमा गरी पुनः विर्ता मन्दिरमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले महिलाले आफ्नो हक तथा अधिकारका लागि सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा समाजसेवी एवम् महिला नेत्री अन्नपुर्ण मानन्धर, वीरगञ्ज महानगरपालिका कार्यपालिका सदस्य राधा कार्की, वीरगञ्ज नर्सिङ् क्याम्पस प्रमुख डा. कल्पना पौडेल, समाजसेवी तथा युवा नेता सन्तोष कुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मज्जिद मियाँ, समाजसेवी प्रतिमा सिंह, रानी रोय लगायतको उपस्थिती रहेको थियो ।
कोणसभाको समापनसँगै वीरगञ्ज नर्सिङ् क्याम्पस परिसरमा वृक्षरोपण गरिएको थियो । ११४ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा “प्रत्येक रुखलाई लैङ्गिक समानताको प्रगतीको प्रमाण बनाऔं ।” भन्ने उद्देश्यले विरुवा रोपिएको फाउण्डेशनकी अध्यक्ष मानन्धरले बताइन् ।