पर्सा । पकहाँमैनपुर गाउँपालिका-४ खेस्राहामा रोटरी क्लब अफ बिरगंज पर्साले ३ सय मुसहर बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। क्लबका अध्यक्ष निर्मल खत्रीका अनुसार ट्र्याक सुट र टोपीलगायतका कपडा वितरण गरिएको हो।
रोटरी क्लब अफ बिरगंजले यसअघि पनि गरीब, विपन्न र असहायलाई विभिन्न प्रकारका सहयोग गर्दै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष खत्रीको कार्यकालमा क्लब सामाजिक सेवामा सक्रिय रहँदै आएकोमा प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे।
उनले भने, “रोटरी क्लबको प्रयासले धेरै असहाय परिवारलाई राहत मिलेको छ। "
कार्यक्रममा न्यानो कपडा प्राप्त गरेपछि एक बालिकाकी आमाले खुशी व्यक्त गर्दै भनिन्, “हाम्रो जस्तो अवस्थामा यो सहयोगले हाम्रो जीवन बचाएको छ। हामी अत्यन्त आभारी छौं।”
कार्यक्रममा क्लबका सचिव राकेश मिश्र, वडा अध्यक्ष ढेडी प्रसाद यादव, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, बिओपी लहावरथकरीका ईन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक द्रोवन ढकाल, आयुस गुप्ता, योगेश जयसवाल, र पियूष अग्रवाललगायतको उपस्थिति रहेको थियो।