तपाईंले कसैलाई देख्ने बित्तिकै किन आफ्नो जस्तो लाग्छ र मन पनि उसैतिर तानिन्छ ।
मानिसहरूले यो भावनाको अभिव्यक्तिका लागि धेरै कुरा भनिसकेका छन् तर, विज्ञानले यो परिवर्तित व्यवहारलाई शारीरिक हर्मोनहरूसँग जोड्छ र भन्छ – यो मुटु वा धड्कनको होइन, दिमागको खेल हो ।
यदि तपाईं कसैको प्रेममा हराउनुभएको छ भने यो जान्नुहोस् कि यो केवल भावना मात्र होइन, यसको पछाडि पनि रसायनिक कारण छ । यत्तिकै कसैलाई देखेर मुटुको धड्कन बढ्दैन । जर्नल अफ कम्पेरेटिभ न्युरोलोजीमा प्रकाशित एक रिपोर्टले भन्छ – यो रसायनिक प्रतिक्रिया हो, जसले दिमागलाई यसरी सोच्न बाध्य पार्छ ।
सन् २०१७ मा अर्काइभ अफ सेक्सुअल बिहेभियरमा प्रकाशित रिपोर्टले भन्छ – डोपामाइन त्यो रसायन हो, जसले तपाईंलाई एउटै व्यक्तिको बारेमा सोचिरहन बाध्य पार्छ । त्यसैले तपाईंको सोचलाई एउटै व्यक्तिको वरिपरि केन्द्रित गरिदिन्छ ।
जर्नल अफ पर्सनालिटी एन्ड सोसल साइकोलोजी अनुसार सेन्ट्रल नोरेपाइनफ्रिल नामक रसायनले हाम्रो दिमागमा यस्तो सेटिङ बनाइदिन्छ कि आफ्नो मायामा राम्रा कुराहरू मात्र देखिन्छन् र उसको अगाडि सबै कुराहरू फिका लाग्छ । मुटुको धड्कन बढ्ने, सास छिटो चल्ने, बेचैनी र तनावका साथै मायामा मानिसहरूको निद्रा उड्छ र भोक पनि मर्छ ।
फिलोसोफी, साइक्याट्री एन्ड साइकोलोजी जर्नलको एक रिपोर्टले भन्छ – लागूपदार्थ दुर्व्यसनीजस्ता यी बानीहरू मायाको रसायनिक प्रतिक्रियाका कारण उत्पन्न हुन्छ ।
मानवशास्त्री हेलेनका अनुसार डोपामाइनले तीव्र गतिमा आकर्षित गर्छ र जब उनीहरूबीच कुनै झगडा हुन्छ, यी हर्मोनका न्युरोनहरू अझ तीव्र गतिमा सक्रिय हुन्छ र आकर्षण दोब्बर हुन्छ ।
सन् २०१२ मा साइकोफिजियोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले भन्छ – प्रेमीप्रेमिकाले जताउने अधिकार र पागलपन पनि रसायनकै प्रभाव हो । दिमागमा सेरोटोनिन हर्मोनको स्तर कम हुँदा ८५ प्रतिशत सोचमा एउटै व्यक्तिको कब्जा हुन्छ र व्यक्तिले मानसिक रूपमा बिरामी जस्तो व्यवहार गर्न थाल्छ ।
दिमागको अगाडिको भागमा रहेको सिङ्गुलेट गाइरस नामक भाग सक्रिय हुने बित्तिकै मानिसको अवस्था कुनै लागूपदार्थ सेवनकर्ताको जस्तो हुन्छ । उसको भावनात्मक निर्भरता बढ्छ र ऊ कमजोर हुन थाल्छ । त्यसपछि सेरोटोनिन कम भएर अक्सिटोसिन हर्मोन बढ्ने पालो आउँछ ।
यस्तो अवस्थामा मानिसले गहिरो सम्बन्धको कल्पना गर्छ र भविष्यको जीवनको सपना देख्न थाल्छ । यति मात्र होइन, मिरर न्युरोन्स बढ्नाले मानिस सहानुभूतिको उच्च स्तरमा पुग्छ र ठूलोभन्दा ठूलो त्याग गर्न समेत तयार हुन्छ ।
रिपोर्टकाअनुसार सम्बन्धको अर्को चरण भावनात्मकबाट शारीरिक सम्बन्धतर्फ बढ्छ । सन् २००२ मा गरिएको अध्ययनले बताउँछ - ६४ प्रतिशत मानिसहरूले मायामा शारीरिक सम्बन्धलाई महत्त्व दिन्छन् ।
तपाईंलाई थाहा पाउँदा आश्चर्य लाग्नेछ कि रसायनको यो प्रतिक्रिया धेरै लामो समयसम्म चल्दैन । यो केही महिना वा वर्षपछि समाप्त हुन थाल्छ र सामान्यतया ३–४ वर्षभित्र समाप्त हुन्छ । यही कारण हो कि मायामा धोका दिन पनि मानिसहरू पछि हट्दैनन् ।