आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख। महाशिवरात्रि पर्व। पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ।
शिवको अर्थ हुन्छ- कल्याण। भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन्।
जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि।
व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन्। महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।
शिवप्रिया रात्रिः शिवरात्रिः
शिवरात्रिको महत्व व्याधाको कथासँग जोडिएको छ। मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए।
कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो। शिवरात्रिको पर्वलाई पर्वको राजा भनिन्छ। शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ। यस दिन शिवार्चनका साथै रात्रि-जागरणको विशेष महत्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ। भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो। महाशिवरात्रिको यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ।
शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ। यसै दिन शिव पार्वतीको विवाह भएको थियो। यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए।
शिवधुनी नै किन ?
शिवरात्रिका दिन शिवधुनीमा साधकहरु मन्त्रमुग्ध हुन्छन्। व्रतालुले रातभर जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ। व्रत बस्नेले राति जाग्राम बसेपछि मात्र व्रत पूर्ण हुने भएकाले साधक रातभर जाग्राम बस्नुपर्ने उपप्राध्यापक पौडेले बताए। शिवरात्रिको दिन कम्तीमा तीन प्रहरसम्म शिवको पूजा गरिछ। ४-४ घण्टाको फरकमा पूजा गर्ने शास्त्रीय विधि छ। शास्त्रमा यस्तो लेखिएको छ– फाल्गुणे कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका।।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ। अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ। यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ। तर रात्रिमा जाग्राम बस्ने नाममा विष, भांग धतुरो खाएर लट्ठ हुने बानी भने धर्मका नाममा भित्रिएको विकृति हो।
यसरी भयो प्रारम्भ
पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो ? भन्ने विषयमा विवाद भयो। विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे। त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रुपमा प्रकट भए। पुराणमा भनिएको छ- ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए। यो लिंग निराकार ब्रह्मको प्रतीक हो।
दुवैले त्यस लिंगको पूजा गरीसकेपछि भने- ‘हे भगवान, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरुले पूजा कसरी गर्नेछन् ? यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रुपमा विभक्त भए। त्यसदिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रुपमा चल्दै आएको छ।