काठमाडौं । यही फागुन २८ गते (सोमबार) राष्ट्रियसभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता हुने भएको छ भने मंगलबार मतदान हुने भएको छ ।
दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गर्दा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिइन् ।
उनको अध्यक्षतामा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।
दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको बताइएको छ । सम्भावित कार्यतालिकालाई प्रभावित नगरी कामकारबाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
यसअघि राष्ट्रियसभाले आफ्नो सम्भावित कार्यतालिका सार्वजनिक गर्दा फागुन २९ गते अध्यक्षको निर्वाचन हुने उल्लेख गरेको थियो । सहायक प्रवक्ता धमलाका अनुसार फागुन २७ गते आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुने छ ।
गत फागुन २० गते राष्ट्रियसभाका २० जना सदस्यको ६ वर्षे पदावधि सकिएको छ । २० जना सदस्यको पदावधि सकिएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएकाले राष्ट्रियसभाले अध्यक्ष चयनको प्रक्रिया अगाडि बढाउन थालेको हो ।
रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथ ग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन् । बाँकी एक सदस्य महिला मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ ।