वीरगंज, पर्सा – श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिद्वारा गहवा माई मंदिरको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
वीरगंज महानगरपालिका-०६ स्थित समितिले सहिद दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।
माघ १६ गते बुधवारको दिन बिहान ७:३० बजेबाट सुरु हुने उक्त शिविरमा आँखा, नाक, कान, घाटी, तथा दाँतको निःशुल्क जाँच गरिने समितका महासचिव पप्पु गुप्ताले बताए ।
उक्त शिविरमा केडिया आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँखा सम्बन्धी जाँच र आवश्यक परे शल्यक्रिया समेत निःशुल्क गरिने जानकारी आयोजक समितिले दिएको छ। साथै, नाक, कान, घाटी र दाँतका रोगहरूको जाँच र परामर्श समेत उपलब्ध हुनेछ।
यो शिविर श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा नेपाल नेत्रज्योति संघ, वीरगंज पर्साको सहकार्यमा सञ्चालन हुने भएको छ।
स्वास्थ्य सेवामा पहुँच बढाउन र सहिद दिवसको महत्त्वलाई जनमानसमा पुर्याउन शिविरको आयोजना गरिएको समितिले जनाएको छ। इच्छुक व्यक्तिहरूले समयमा नै उपस्थित भएर सेवा लिन आयोजकले आग्रह गरेको छ।