पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा विभिन्न स्थानहरूमा गस्ती गरी भन्सार छली गरी ल्याइएका कुखुरा, पाडी, लत्ताकपडा तथा विभिन्न अन्य मालबस्तुहरू बरामद गरेको छ। बरामद सामानहरूको अनुमानित मूल्य रु. ३ लाख पाँच हजार रहेको प्रहरीले जनाएको छ।
भन्सार छलीका कपडाहरू बरामद
वडा प्रहरी कार्यालय (व.प्र.का.) श्रीपुरबाट खटिएको टोलीले बुधबार दिउँसो वीरगञ्जबाट कलैया, बारा जाँदै गरेको सार्वजनिक गाडी जाँच गर्ने क्रममा तीन पोका साडी (कुल ५० थान) फेला पारेको थियो। उक्त कपडाको अनुमानित मूल्य रु. १,६०,००० रहेको छ। बरामद सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
अबैध कुखुरा सहित मोटरसाइकल बरामद
इलाका प्रहरी कार्यालय (इ.प्र.का.) लगंडीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बीआर २२ ई ८७९७ नम्बरको मोटरसाइकलमा ३८ वटा अबैध कुखुरा भेट्टाएको थियो। प्रहरीले देखेपछि व्यक्ति फरार भएका कारण मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिइएको छ। कुखुराको अनुमानित मूल्य रु. ४०,००० रहेको छ। पक्राउ गरिएका कुखुरा पशु क्वारेन्टाइन कार्यालय, सिर्सिया, पर्सामा बुझाइएको छ।
चोरी पैठारीको पाडी नियन्त्रणमा
व.प्र.का. विर्ताबाट खटिएको प्रहरी टोलीले बिहान ११:३० बजे घुसुकपुर, वीरगञ्ज–१६ मा भन्सार छली चोरी पैठारी गरी ल्याइएको एक भैँसीको पाडी नियन्त्रणमा लिएको छ। उक्त पाडीको अनुमानित मूल्य रु. १५,००० रहेको छ।
बिलबिजक नभएका मालबस्तुहरू बरामद
विर्ताबाट खटिएको प्रहरी टोलीले प्रगतीनगर, वीरगञ्ज–३ स्थित राजेश तिवारीद्वारा सञ्चालित M.K. Fruits गोदाममा छापा मारेर कुनै बिलबिजक नभएका नारिवल, सुपाडी तथा छोगडा बरामद गरेको छ। यी मालबस्तुहरूको अनुमानित मूल्य रु. १,५०,००० रहेको छ।
पक्राउ परेका सम्पूर्ण मालबस्तुहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले अबैध तस्करी तथा चोरी पैठारीविरुद्ध निगरानी बढाउने बताएको छ।