वीरगंज, पर्सा – गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा वीरगंजस्थित गहवा माई मन्दिरको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शहीद दिवसको सम्झनामा आयोजित यस शिविरमा नेपाल नेत्रज्योति संघको विशेष सहयोग रहेको थियो।
सो शिविरमा ५४७ जना बिरामीहरूले विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका थिए। नेपाल नेत्रज्योति संघको संयोजनमा आँखाको परीक्षण गरिएकामध्ये ५५ जनाको मोतियाबिन्दु शल्यक्रिया (फुल अपरेशन) गरिएको छ। साथै, स्माइल डेन्टल क्लिनिकका डॉ. भावना कुमारी झा तथा डॉ. निधि सिंहले दन्तसम्बन्धी उपचारमा विशेष छुट प्रदान गरेका थिए।
यसैगरी, नाक, कान, घाँटी सम्बन्धी परीक्षण शान्ति पोलिक्लिनिकका डॉ. दिनेश कुमार साहद्वारा गरिएको थियो। साथै, ब्लड प्रेसर चेकअप हेल्थ असिस्टेन्ट बिरजू बैठाले गरेका थिए।
शिविरको अध्यक्षता श्री श्याम पोखरेलले गर्नुभएको थियो भने उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव पप्पु गुप्ता तथा कोषाध्यक्ष रविशंकर अग्रवालको विशेष सक्रियता रहेको थियो।
वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, सुरक्षा अधिकारीहरू तथा स्थानीय समुदायको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको यस शिविरले स्थानीय बासिन्दाहरूलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पु-याएको छ।
स्वास्थ्य शिविरमा वीरगंज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जय प्रकाश अग्रवाल, पुर्व वडा अध्यक्ष राजकिशोर गुप्ता, हेल्थ असिस्टेन्ट शिवशंकर प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।