पर्सा – पर्सा जिल्लामा एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालनको तयारीस्वरूप जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाबीच अभिमुखीकरण तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम शुक्रबार जिल्ला प्रशासन कार्यालयको सभा हलमा स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले खोप अभियानलाई व्यवस्थित ढंगले सञ्चालन गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले कोभिड-१९ खोप अभियानका बेला देखिएका समस्याहरू दोहोरिन नदिन सतर्क रहनु आवश्यक रहेको बताए। महँगो खोप भएकाले कुनै पनि बालिका खोपबाट वञ्चित हुन नदिन स्वास्थ्य कार्यालयलाई सचेत रहन सुझाव दिए।
महिलामाझ पाठेघरको क्यान्सर सबैभन्दा बढी
कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुरेन्द्र चौधरीले पाठेघरको क्यान्सरबारे जानकारी दिँदै नेपालमा महिलामाझ सबैभन्दा बढी देखिने क्यान्सर यही रहेको बताए। उनले एचपीभी भाइरस मुख्यतः यौन सम्पर्कबाट सर्ने भएकाले यसविरुद्धको खोप निकै प्रभावकारी रहेको उल्लेख गरे। नेपाल सरकारले १० देखि १४ वर्ष उमेर समूहका छात्रा बालिकाहरूलाई खोप प्रदान गरिरहेको जानकारी उनले दिए।
त्यसैगरी, आकस्मिक विभाग प्रमुख डा. उदय नारायण सिंहले एचपीभी भाइरस यौन सम्पर्कमार्फत सजिलै सर्ने भएकाले श्रीमान-श्रीमतीबीच पनि सावधानी अपनाउनु आवश्यक रहेको बताए। उनले पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी खोप मात्र प्रभावकारी उपाय भएको स्पष्ट पारे।
नेपाल सरकारले सबै बालिकालाई खोप दिने योजना
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार एचपीभी खोप हालसम्म १४५ देशमा सफल रूपमा प्रयोग भइरहेको छ र पूर्ण रूपमा सुरक्षित रहेको छ। उनले यस वर्ष नेपालमा कक्षा ७ देखि १० सम्मका छात्राहरूलाई खोप प्रदान गरिए पनि आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्मका बालिकाहरूलाई खोप दिने नीति रहेको जानकारी गराए।
खोप अभियानका चुनौतीहरू
कार्यक्रममा केही निजी तथा सामुदायिक विद्ययालयहरुमा विद्यालय भन्दा बाहिर रहेका बालिकाहरुलाइलाई खोप लगाउन नदिएको गुनासो आए अधिकृत ठाकुरले सम्बन्धित विद्यालयहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए। उनले पर्सा जिल्लाका सबै पालिकाहरूमा माघ २१ गतेसम्म खोप पुर्याइनेछ भने माघ २२ गतेदेखि खोप अभियान सञ्चालन गरिने जानकारी दिए ।
दुई चरणमा खोप अभियान सञ्चालन
स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ।
पहिलो चरण: माघ २२ – २८ बिरगंज महानगरपालिका (वडा नं. १ – १६) जिराभवानी, जगरनाथपुर, पटेर्वा सुगौली, पर्सागढी, पोखरीया नगरपालिका
दोस्रो चरण: माघ ३० – फागुन ६ पकाहामैनपुर गाउँपालिका, विन्दवासीनी गाउँपालिका धोबिनी गाउँपालिका लगायत छुटेका पालिकाहरू तथा वीरगञ्ज महानगरपालिका (वडा नं. १७ – ३२) का वडाहरूमा माघ २८ गते खोप लगाइनेछ। खोप आपूर्तिलाई सहज बनाउन कोल्ड चेन व्यवस्थापन गरिएको छ।
स्वास्थ्यकर्मीको तयारी
पर्सा जिल्लाका १४ वटा पालिकाका स्वास्थ्य प्रमुखहरू तयारी अवस्थामा छन्। खोप कार्यक्रम सफल बनाउन ३४५ जना खोप कार्यकर्ता तथा ६९० जना स्वयंसेवक परिचालित गरिनेछ। नारायणी अस्पतालका चिकित्सकहरू समेत तयारी अवस्थामा रहनेछन्। हालसम्म जिल्लाका बालिकाहरूको तथ्यांक संकलन भइसकेको तथा खोप आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
पाठेघरको क्यान्सर परीक्षण निःशुल्क
नेपाल सरकारले एचपीभी खोप अभियानको प्रचारप्रसारका लागि चर्चित व्यक्तित्वहरूलाई खोप दूतका रूपमा आह्वान गरेको छ। स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा हरेक दिन औसतमा चार जना महिलाको मृत्यु पाठेघरको क्यान्सरका कारण हुने भएकाले समयमै खोप लगाउनु र नियमित परीक्षण गराउनु अत्यावश्यक रहेको छ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, जनस्वास्थ्य कार्यालय प्रमुख डा. मुक्ति नारायण साह, विभिन्न स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।