जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले ६४ वटै निर्वाचन क्षेत्रमा रोजगार केन्द्र स्थापना गरी सहकारीमार्फत सञ्चालन गर्ने घोषणा गरेका छन ।
आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको मधेश प्रदेशस्तरीय सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण गोष्ठी को उद्घाटन सत्रमा उनले यस्तो घोषणा गरेका हुन।
मुख्यमन्त्री सिंहले सहकारीहरू आफ्नै मूल उद्देश्यअनुसार नचलेका कारण विभिन्न समस्या उत्पन्न भएको उल्लेख गर्दै सहकारीहरूले उत्पादन मात्र नभई त्यसको प्रभावकारी बजारीकरणमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओमदेवी मल्लले सहकारीले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेले पनि केही व्यक्तिका कारण सहकारी क्षेत्र बदनाम हुन पुगेको बताए ।
उनले वर्तमान सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा प्राधिकरणलगायतका केही व्यवस्था सकारात्मक रहेको तर केही पक्ष प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
विशिष्ट अतिथिका रूपमा बोल्दै निमित्त प्रदेश प्रमुख सचिव जयकुमार घिमिरेले केही सहकारीहरूमा समस्या देखिएको भन्दैमा सबै सहकारीहरू नै विफल भएको मान्न नहुने धारणा राखे ।
त्यस्तै, प्रदेश सांसद जवाहरलाल कुशवाहले बजार क्षेत्रमा रहेका केही सहकारीहरूमा समस्या देखिए पनि दुर्गम क्षेत्रका सहकारी संस्थाहरूले स्थानीय जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिएको बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शम्भु प्रसाद गुप्ताले सहकारीमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र निष्पक्षता सुनिश्चित गर्न प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो। साथै, माता सीताको पवित्र जन्मभूमि जनकपुरमा सहभागीहरूलाई स्वागत गर्न पाउँदा गौरवको अनुभूति भएको बताए ।
कार्यक्रमको सञ्चालन महासंघका सञ्चालक सदस्य नथुनी यादवले गरेका थिए ।भने कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव टोलराज उपाध्यायले "सहकारी सुशासन प्रवर्द्धनमा सरोकारवाला निकायको भूमिका" विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
मधेश प्रदेश सहकारी रजिष्ट्रार सरोज चौधरीले "मधेश प्रदेशमा सहकारीको अवस्था र आगामी बाटो" सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम अन्तर्गत सहकारीका समस्या र समाधानका उपायबारे प्यानल छलफल पनि सम्पन्न भयो। छलफलमा सहकारी बैंकका सञ्चालक विश्वनाथ मण्डल, जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव नारायण यादव, वीरगञ्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख ई. सुनिल कुमार कर्ण, तथा साना किसान कृषि सहकारीका प्रवन्धक दीप नारायण पूर्वे प्यानलिष्टको रूपमा सहभागी थिए ।
छलफलको सञ्चालन महासंघका महाप्रबन्धक सुरेश थापाले गरेका थिए ।कार्यक्रमका निष्कर्षहरू महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।
सो अभिमुखीकरण कार्यक्रममा मधेश प्रदेशका सबै जिल्लाबाट ११५ भन्दा बढी सहकारीकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।