जनकपुरधाम : जनकपुरधामस्थित एक निजी अस्पतालमा पित्तथैलीको अप्रेसन गरेको बिरामीको २० दिनसम्म होस खुल्न सकेको छैन। अवैधानिक रूपमा सञ्चालित जनकपुरधामस्थित मुस्कान अस्पताल प्रालिमा पित्तथैलीको अप्रेसन गरेको बिरामीको २० दिनसम्म होस खुल्न नसकेको हो। गत माघ ३ गतेनै पित्तथैलीको अप्रेसन गरेकी सर्लाही हरिपुर्वा नगरपालिका-५ की पबिताकुमारी राय यादवको पित्तथैलीको अप्रेसन गर्दा उनी जीवनमरणको दोसाँधमा जुधिरहेकी छिन्।
बबिता यादवको बुवा ब्रह्मदेव यादवका अनुसार गत माघ ३ गते जनकपुरधामस्थित सूर्या अल्ट्रासाउन्डमा पत्थरी छ, अप्रेसन गराउनुपर्छ भनी बिचौलिया सुशीलकुमार यादवमार्फत जनकपुरधाम-१४ स्थित मुस्कान अस्पतालमा पुगेका थिए। गत माघ ३ गते नै मुस्कान अस्पतालमा कार्यरत डाक्टर ज्ञानकुमार साहले पित्तथैलीको अप्रेसन गरेका थिए। तर अप्रेसनसँगै पबिताको होस् गायब भएको थियो। ब्रहमदेवले भने, ‘शल्यक्रियापश्चात बबितालाई भेन्टिलेटरमा राखियो। तर कुनै सुधार आएन। सिटीस्क्यान गराउन अस्पतालले बाहिर पठायो। सिटीस्क्यान गराएर आइसकेपछि अस्पतालले उनलाई स्नायुसम्बन्धी समस्या रहेको भन्दै अन्तै लगेर उपचार गराउन भन्यो। त्यसपछि माघ ६ गते जनकपुरको जानकी हेल्थ केयरमा लगेर भेन्टिलेटरमा राखियो। तर, त्यहाँ पनि अहिलेसम्म पबिताको होस आएको छैन।’
पबिताका आफन्त वीरेन्द्र अधिकारीका अनुसार शल्यक्रियाका क्रममा डाक्टरले लापरबाही गरेकाले गम्भीर अवस्थामा पुगेको बताउँछन्। उनले अस्पताल र डाक्टरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका छन्। ‘अप्रेसनमै भएको चरम लापरबाहीले होस आएको छैन,’ अधिकारी भन्छन्, ‘लापरबाही गर्ने डाक्टर र मुस्कान अस्पतालमै राम्रो उपचार हुन्छ भनेर ललाइफकाइ अप्रेसन गर्न पठाउने बिचौलिया सुशीलकुमार यादवलाई कारबाही हुनुपर्ने र पबिताको जीवनरक्षाका लागि उपचारको आवश्यक प्रबन्ध मिलाउन सबैपक्षसँग माग र न्यायका लागि गुहार गरिरहेका छौं।’
‘अस्पतालले आफूसँग सुविधा नभएको र आफूले उपचार गर्न नसक्ने बिरामीलाई सुरुमै भर्ना नलिनुपर्नेमा सोको विपरीत निजले लापरबाहीपूर्ण तवरबाट बिरामीको उपचार गरी बिरामीलाई मरणासन्न अवस्थामा पुर्याएको निवेदन पेस गर्न आएको छु’, जिल्ला प्रहरी कार्यालय धनुषा र मेडिकल काउन्सिलमा दिएको उजुरीको व्यहोरामा उल्लेख छ। हाल जानकी हेल्थ केयरको आईसीयू कक्षमा उपचाररत रहेकी पबितालाई अरू नै अस्पतालमा लैजान भनिरहेका छन्। तर आर्थिक समस्याले बाहिर लैजान आर्थिक अवस्था छैन। अस्पताल पक्षले बाहिर उपचारका लागि लग्न पटक–पटकभन्दा पनि आफूहरूले लग्न सकेको नसकेको पबिताका बुवा ब्रह्मदेवको भनाइ छ।
दर्ताबिनै अस्पताल सञ्चालन
जनकपुरधाममा दर्ताबिनै सञ्चालनमा रहेको अस्पतालहरूको बिगबिगी रहेको समयमा पबितालाई अप्रेसनको गरेको मुस्कान अस्पताल प्रालिसमेत दर्ताबिनै सञ्चालनमा रहेको पाइएको छ। करिब एक महिनाअघि सञ्चालनमा आएको मुस्कालन अस्पताल सम्बन्धित कुनै पनि निकायमा दर्ता गरेको पाइएको छैन। अस्पताल स्वीकृति दर्ताबिनै सञ्चालनमा रहेको पाइएको हो।
अस्पतालको ब्यानरमा प्रयोग गरिएको नम्बरमा फोन गर्दा अस्पतालका सल्लाहकार रहेको भनी बताउने कमल राईले आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘मलाई यो विषयमा केही थाहा छैन, डाक्टरसँग सोध्नुस् यो मेरो सरोकारको विषय पनि होइन, म अस्पतालको सल्लाहकार मात्र हो।’
जनकपुरधाम उपमहानगरपालिका र मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि मुस्कान अस्पतालको कुनै प्रकारको रेकर्ड नभेटिएको स्रोतको भनाइ छ। अन्नपूर्णकर्मीको प्रश्नमा अप्रेसनमा संलग्न डा. ज्ञानकुमार साहले अस्पताल दर्ता भए नभएकोसँग आफ्नो मतलव नभएको बताए। उनले भने, ‘अस्पताल दर्ता छ कि छैन, मलाई थाहा हुने विषय भएन, मेरो सरोकारको विषय पनि भएन। अस्पताल सञ्चालन वा दर्ताको बारेमा मसँग किन सोध्नुभयो ? मलाई डिटेल जानकारी भएन। मलाई त मेडिकल अफिसरले यस्तो के छ आएर अप्रेसन गरिदिनुस् भन्दा आएर अप्रेसन गरिदिए। यो जस्तो १० ठाउँमा अझ काम गरिरहेको छु।’
बिरामीको छारेरोग लुकाइयो: डाक्टर
पबिता राय यादवको अप्रेसनमा संलग्न चिकित्सक ज्ञानकुमार साहले बिरामी र बिरामीको आफन्तले छारे रोगबाट ग्रसित भएको कुरा लुकाएको कारण बिरामी जटिल अवस्थामा पुगेको दाबी गरे। उनले भने, ‘बिरामी स्वयं र बिरामीको परिवारले छारेरोग लागेको कुरा हामीलाई जानकारी दिएन। हामी भगवान त हैन, नि सबै कुरा थाहा हुन्छ। अहिले उपचारमा लागेको रकम मागेर बिरामीको परिवारले बार्गेनिङ गरिरहेको छ, तर मैले कुनै लापरबाही नै गरेको छैन, किन डराउनू!’
चिकित्सक साहले भने, ‘सिटी स्क्यानका लागि लगिएको बिरामीले हाम्रो सल्लाहबिनै अन्य अस्पतालमा लगियो। पछि आएर मात्र यहाँबाट रेफर गराएर गयो। यहाँको एक रुपैयाँ पनि दिएको छैन। सबै रकम बाँकी नै छ। अझ थप रकमको बार्गेनिङ मसँग गरिरहेको छ।’
चिकित्सक साहका अनुसार छारेरोगको उपचार यहाँ सम्भव नभए पनि जानकी मेडिकल कलेजमा राखेर त्यो हस्पिटलको खर्च मसँग मागिरहेको छ। ‘मेरो कुनै लापरबाही नै छैन, मैले किन उपचार खर्च तिर्नु, छारेरोगको उपचार यहाँ सम्भव पनि छैन।’
यो विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा दुई दिन छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको स्रोतको बिरामीको आफन्त वीरेन्द्र अधिकारीको भनाइ छ। जनकपुरमा दर्ताबिनै हस्पिटल खोलेर मनपरी शुल्क असुल्ने र उपचारका नाममा बिरामीको ज्यानसँग खेलबाड गर्ने गरेको गुनासो सुनिन्छ तर नियामक निकाय मूकदर्शक बनेको जनकपुरधाम-८ का महाशंकर ठाकुरको आरोप छ।