कपिलवस्तु - कपिलवस्तु टेक्निकल इन्स्टिच्युट, बाणगंगा-२, पिपराले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै खेल सप्ताहको समापन समारोह सम्पन्न गरेको छ। माघ २० गतेदेखि सञ्चालन भएको खेलकुद प्रतियोगिता शुक्रबार विशेष कार्यक्रमका बीच समापन गरिएको हो।
समारोहका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुदमा पनि सक्रिय हुन प्रेरित गरे। उनले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्वदायी क्षमताको विकास गर्ने बताए।
इन्स्टिच्यूटका प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले प्राविधिक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै देशको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। उनले दक्ष जनशक्ति उत्पादन गरी उद्योग, व्यवसाय र अन्य क्षेत्रको उत्पादनशीलता बढाउनेमा प्राविधिक शिक्षाको भूमिका महत्त्वपूर्ण रहेको बताए।
इन्स्टिच्यूटका लेखा प्रमुख नन्दराम पौडेलले विद्यार्थीहरूलाई शुभकामना दिँदै खेलकुदले उनीहरूको शारीरिक तथा मानसिक विकासमा उल्लेखनीय योगदान दिने विचार व्यक्त गरे।
खेल सप्ताहअन्तर्गत क्रिकेट, भलिबल, म्युजिकल चेयर, सटपुट, चेस, लुडो, क्यारमबोर्ड, स्लो साइकल रेस लगायत विभिन्न खेलहरू समावेश गरिएका थिए। विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य लगायत विभिन्न प्रतिभाहरू प्रदर्शन गरेका थिए। खेल संयोजक विक्रम घिमिरेले खेल सप्ताहको सफल आयोजनाका लागि सम्पूर्ण सहभागी, आयोजक र सहयात्रीलाई धन्यवाद दिँदै विद्यार्थीहरूको सक्रियता र सहयोगले कार्यक्रम सफल हुन सकेको बताए।
प्रतियोगितामा एच.ए., फार्मेसी, ल्याब टेक्निसियन संकायका प्रथम, दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सभापति प्रतिभा थारूले विद्यार्थीहरूको जोश र लगनशीलताको प्रशंसा गरिन्। स्वागत मन्तव्य मनिषा सुनारले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन नवराज थारूले गरेका थिए।