जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकार पुनर्गठनको तयारीमा जुटेका छन् ।केन्द्रमा सत्ता समीकरण बदलिएकापछि मुख्यमन्त्री यादव सरकार पुनर्गठन गर्नेचर्फ लागेका हुन् ।
नयाँ समीकरणअनुसार नेकपा एमाले सरकारमा सहभागी हुनेछ भने नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिनेछन् ।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले कांग्रेस र लोसपाका मन्त्रीलाई राजीनामा दिन भनेका छन् । तर, कांग्रेस र लोसपाका मन्त्रीहरु केन्द्रको निर्देशन पर्खेर बसेका छन् ।
कांग्रेसबाट कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, वीरेन्द्रकुमार सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह तथा सञ्चारमन्त्री छन् । लोसपाका रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री छन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका भौतिकमन्त्री यादवले केन्द्रको निर्देशन पर्खेर बसेको बताए ।
उनले भने, ‘राजीनामा दिने कि नदिने विषयमा हामीले केही निर्णय गरेका छैनौं ।’
कांग्रेस र लोसपाका मन्त्रीहरुले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गर्ने जसपाका एक नेताले बताए । उनका अनुसार भोलिसम्म केही परिणाम आउँछ ।
कांग्रेस र लोसपाका मन्त्रीहरु हटे प्रदेशमा ६ मन्त्रालय खाली हुनेछ । यसअघि जनमत पार्टीका दुई मन्त्रीले सरकार छाडेका थिए । जनमतले छाडेको शिक्षा तथा समाज कल्याण र यातायात मन्त्रालय अहिले मुख्यमन्त्रीले सम्हालेका छन् ।
कांग्रेस र लोसपा सरकारबाट बाहिरिए पनि नयाँ सत्ता गठबन्धनमा आवद्ध दलसँग सरकार बनाउने बहुमत रहेको छ । मधेशमा १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।
नयाँ गठबन्धनमा रहेका एमालेका २३, जसपाका १९, माओवादीका ९ र एकीकृत समाजवादीका ७ जनासहित ५८ सांसद छन् । यो संख्या सरकार गठन गर्न चाहिनेभन्दा ४ सांसद बढी हो ।
सरकार पुनर्गठन गर्दा एमालेले चार मन्त्री पाउने सम्भावना छ । दुई मन्त्रालयमध्ये नेकपा एस र माओवादीलाई १–१ दिने विषयमा छलफल चलिरहेको बुझिएको छ । एमाले सांसद शत्रुधनप्रसाद सिंहले पनि चार मन्त्रालय पाउन सक्ने बताए ।