काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अध्यादेशको विषयमा आफ्नो पार्टीले कुनै बार्गेनिङ नरेको दाबी गरेका छन् । आइतबार संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले देश र जनताको हितमा हुने गरी अध्यादेशमा निर्णय लिने बताए ।
उनले अध्यादेशमा आफ्नो पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा चलाइएको बताए । जसपा नेपाल अहिले सरकारमा जाने पक्षमा नरहेको दाबी यादवको छ ।
“प्रोपोगान्डाको कुरा नगरौँ । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौ”, उनले भनेका छन्, “हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।”
यादवले आफूहरूको कारण अध्यादेशमा अड्चन आएको भन्ने भनाई सही नभएको बताए । उनले जसपा नेपालले विज्ञहरूको सुझावकै आधारमा निर्णय लिने बताए ।
“सरकारले अध्यादेशका कार्यसूची आफै फिर्ता लिन्छ, हामीले अड्काएको कसरी भयो ?”, उनले भनेका छन्, “धेरै विज्ञसँग छलफल गरिरहेका छौँ, उहाँहरूको मिश्रित प्रतिक्रिया छ, जसलाई अध्ययन गरेर हामी निष्कर्षमा पुग्छौँ । सरकारले कार्यसूचीमा राख्ने बित्तिकै हामीले निर्णय लिन्छौँ ।”
सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो । जसलाई संसदमा निर्णयार्थ पेश गर्ने तयारीमा सरकार छ । तर, गणितमा अनिश्चित भइरहँदा सरकारले निर्णय लिन सकेको छैन ।
विशेषगरी ५९ सदस्यीय राष्ट्रियसभामा सत्ता पक्षको तर्फमा स्पष्ट बहुमत देखिएको छ । जहाँ ३ सदस्यीय जसपा नेपाल निर्णायक छ । तर, जसपाले अध्यादेशबारे निर्णय लिएको छैन ।