वीरगंज— सनलाइट स्कूलको आयोजनामा माघ २८ गतेदेखि सुरु हुने सनलाइट इन्टर स्कूल नकआउट क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार साँझ मिनिल्याण्ड स्कूलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सनलाइट स्कूलले प्रतियोगिताका लागि आवश्यक सबै व्यवस्थापन सम्पन्न भएको जानकारी गराएको हो।
प्रतियोगिताका कोअर्डिनेटर अमित आलोकका अनुसार प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहनेछ। उनले प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) कै ढाँचामा सञ्चालन गरिने बताए।
सनलाइटका संस्थापक आलोक चौरसियाका अनुसार पछिल्लो समय नेपालमा क्रिकेटको लोकप्रियता बढेकाले वीरगंजमा पनि खेलको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता नारायणी क्रिकेट रंगशालामा बिहान ९ बजे र दिउँसो १ बजे गरी दुई चरणमा सञ्चालन हुनेछ।
उद्घाटन खेल मनोकामना र ज्ञानदा एकेडेमीबीच
प्रतियोगिताको उद्घाटन खेल बिहान ९ बजे मनोकामना स्कूल र ज्ञानदा एकेडेमीबीच हुनेछ भने प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो १२:१५ बजे गरिनेछ।
प्रतियोगितामा माउन्ट मकालु, मिनिल्याण्ड, मनोकामना, ज्ञानदा एकडेमी, गौतम स्कुल, ज्ञान ज्योति, एस.आर. ग्यालेक्सी, जिवन ज्योति,सिडब्लुएस, सनलाईट, लिटिल एन्जल, ओम ईन्टरनेशलन, वीरगंज एकडेमी बिद्यालयले भाग लिएका छन ।
प्रतियोगिता सञ्चालनका लागि करिब अढाई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बिजेता टिम तथा उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरिने आयोजकले जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा जीवन ज्योति स्कूलका प्रिन्सिपल शिव गुप्ता, प्याब्सन वीरगंजका कोषाध्यक्ष सुरज कुर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण प्रतियोगिताका कोअर्डिनेटर अमित आलोकले गरेका थिए।