प्रणय दिवस (भ्यालेन्टाइन्स डे) आज (शुक्रबार) विश्वभरका अधिकांश ठाउँमा मनाइँदैछ । यो प्रेम र स्नेहको महत्वलाई चिनाउने विशेष अवसर हो, जसले मानिसलाई उसकै प्रिय व्यक्तिका लागि आफ्ना भावनाहरू व्यक्त गर्ने प्रेरणा दिन्छ । आजको दिन १४ फेब्रुअरीका नामले पनि चर्चित छ ।
विश्वव्यापीकरणसँगै विशेषगरी युवा पुस्ताले प्रणय दिवसलाई एकहप्ता अघिदेखि नै रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डेको रुपमा मनाउने गरेका छन् । आज त्यसको अन्तिम तथा मुख्य दिन हो ।
यस अवसरमा, प्रेमिल जोडी, साथी र परिवारका सदस्यहरूले एकापसमा उपहार आदानप्रदान गर्ने, विशेष तिथि मनाउने, र एकअर्काप्रति आफ्नो प्रेम तथा सम्मान व्यक्त गर्ने चलन रहेको छ ।
युद्ध पिपासु र दम्भी प्रवृत्तिका रोम साम्राज्यका राजा क्लडियस द्वितीयले तेस्रो शताब्दीतिर आफ्नो शासनकालमा सैनिक सदस्यले बिहे गर्न नपाउने एउटा कठोर किसिमको सैन्य नियम जारी गरेका थिए । सेनामा भ्यालेन्टाइन नाम गरेका एकजना इसाई पादरी पनि थिए । जसले सैनिकले पनि प्रेम र विवाह गर्न पाउनु पर्ने भनेर नियम उलङ्घन गरेका थिए । सेनाका जवानहरूको विवाह गराएका थिए ।
यतिमात्र होइन उनले युवा जोडीहरूलाई सार्वजनिक स्थलमै सामुहिक विवाह कार्यक्रम गराएका थिए । यसपछि नियम उलङ्घन गरेको आरोपमा इसापूर्व २६१६ फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनदेखि तिनै भ्यालेन्टाइनको सम्झनामा अमेरिका, युरोप अष्ट्रेलियालगायत इसाईबाहुल्य देशमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो । यो विस्तारै नेपालसम्म फैलिएको थियो ।