पर्सा - वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसको नव निर्मित प्रशासनिक भवनको उद्घाटन शनिबार सम्पन्न भएको छ।
क्याम्पस प्रमुख रणजीत प्रसाद यादवको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. केदार प्रसाद रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
उक्त समारोहमा दाता परिवारका सदस्य सशिरंजन प्रसाद, प्राध्यापक संघका सभापति डा. प्रमोद कुमार कुशवाहा, सहायक क्याम्पस प्रमुख श्री जनता राउत, पन्नालाल प्रसाद, कुमार सचितानन्द, मोहन प्रसाद यादव, कर्मचारी संघका सभापति किशोरी प्रसाद चौधरी, पूर्व क्याम्पस प्रमुखहरू, शाखा प्रमुखहरू, पूर्व कर्मचारी, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. रिजालले नयाँ प्रशासनिक भवनले क्याम्पसको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे। साथै, क्याम्पस प्रमुख यादवले क्याम्पसको भौतिक पूर्वाधार विकासमा दाता परिवारको योगदानप्रति आभार व्यक्त गर्दै भविष्यमा समेत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गरिने बताए।
उक्त उद्घाटन समारोहले क्याम्पसको पूर्वाधार विकासमा नयाँ आयाम थपेको उपस्थित महानुभावहरूले बताएका छन्।