भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । आइतबार बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् ।
लोकनायक अस्पताल (एलएनजेपी) अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएको बीबीसीले लेखेको छ ।
रेलवे स्टेसनमा भएको भागदौडबारेको प्रश्नमा डीसीपी रेलवे केपीएस मल्होत्राले भने, “भागदौडको कारण छानबिनपछि बाहिर आउनेछ। यो काम रेलवेले गर्नेछ।’’
उनले भने, ‘‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो । रेलवेले तथ्य पत्ता लगाउने काम गर्नेछ।”
मल्होत्राले भने, ‘करिब ९ बजे रेल चल्दा भीड बढ्यो । एकै ठाउँमा धेरै मान्छे हुँदा र ट्रेनको प्रतीक्षामा हुँदा कुनै गलत सूचना फैलियो भने यसले पनि भागदौड निम्त्याउँछ। अब के कारणले यस्तो भयो भन्ने कुरा हो । त्यो विन्दु अनुसन्धानपछि आउनेछ, जुन रेलवेले गर्नेछ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
त्यस्तै, रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।